सुर्खेत। मानव सेवा आश्रम सुर्खेतको भवन निर्माण शिलान्यास गरिएको छ। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आश्रम विकास समितिको सहभागितामा भवन निर्माणका लागि शिलान्यास गरिएको हो।
प्रदेश सरकारबाट निर्माण हुने प्रदेश भवनको लागत अनुमान दुई करोड ५० लाख रहेको छ। जसअन्तर्गत चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारबाट १ करोड ५० लाख विनियोजन गरिएको छ।

मानवसेवा आश्रम चारकुने क्षेत्रको पहिचान देशभरमा जोडिने हुँदा समुदायिक सहभागिता र सहयोगका लागि मुख्यमन्त्री कँडेलले आग्रह गरे। मानवसेवा स्थल निर्माणले सामाजिक सदभाव र एकता कायम राख्ने बताए। वीरेन्द्रनगर चक्रपथ निर्माणको काम प्रक्रियामा रहेको र यसका लागि आफूले नियमित पहल गरिरहेको समुदायलाई जानकारी गराए।
आश्रम भवन निर्माण कार्य गुणस्तरीय र निश्चित समयमै सम्पन्न गरिदिन आग्रह गरे। यसका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता जनाए।सामाजिक विकास मन्त्री भण्डारीले कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको स्मरण गर्दै कर्णालीको भूगोल अनुरुप अन्य जिल्लामा समेत आश्रम निर्माण गरिने बताए।

सरकारी घोषणालाई कार्यान्वयन गर्न एउटा मात्र संस्थामा भर पर्न नहुने प्रति सचेत भएको बताए। मानवता प्रवर्द्धन र सेवाका निमित्त प्रदेश सरकारको प्राथमिकता रहेको जिकिर गर्दै भवन निर्माण जस्ता पूर्वाधार संरचनाको काममा लागिरहेको जानकारी दिए।
मानव सेवा आश्रम कर्णाली विकास समिति संयोजक डा. नवराज केसीले भवन निर्माणको लागि महायज्ञ मार्फत दान संकलन गरिएको स्मरण गर्दै यसको सही सदुपयोगका लागि सबैको सहकार्य र एकता आवश्यक रहेको बताए। आश्रमको समयमै भवन निर्माण गर्न सहयोग गर्न अपिल गरे।
भवन निर्माण स्थल नजिकैको क्षेत्रमा धार्मिक पार्क निर्माण गरिदिन मुख्यमन्त्री र मन्त्रीलाई आग्रह गरे। ज्येष्ठ नागरिक हरुका लागि सामुदायिक भावना सहितको मनोरन्जनत्मक स्थलका रूपमा विकास गर्न सकिने सम्भावना देखाए।

