काठमाडाैं। अमेरिकाले १९ वटा गैर युरोपेली देशका नागरिकहरूलाई ग्रीन कार्ड र नागरिकताका लागि आवेदनमा रोक लगाएको छ।
अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन, बुरूण्डी, क्युबा, लाओस, सेइरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला नागरिकहरूलाई ग्रीन कार्ड र नागरिकताका लागि नयाँ आवेदन मंगलबारदेखि रोक लगाएको हो।
वाशिङ्टन डिसीमा अमेरिकी नेसनल गार्डका सुरक्षाकर्मीमाथि गोली प्रहार भएको घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ती १९ देशका नागरिकहरूले प्राप्त गरेको ग्रीनकार्ड पुनरवलोकन गर्न निर्देशन दिएका थिए।
मंगलबारदेखि भने ती देशका नागरिकहरूले ग्रीन कार्ड र नागरिकताका लागि दिएको आवेदनबारे थप प्रक्रियामा रोक लगाउने र नयाँ आवेदन पनि नलिने निर्णय भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
यी तिनै देशहरू हुन् जसलाई ट्रम्पले अमेरिकाको आन्तरिक सुरक्षामा दखल पुर्याउने सक्ने भनेर गत जुन महिनामै यात्रा प्रतिबन्ध लगाएका थिए।
त्यो भन्दा अगाडिदेखि नै अमेरिकामै रहेकाहरूले भने ग्रीन कार्ड र अमेरिकी नागरिकता लागि प्रक्रिया अगाडि बढाएका थिए। साथै यात्रा प्रतिबन्धका बावजुद पनि धेरै आवेदनहरू परेका थिए।
ग्रीन कार्ड र नागरिकताका लागि आवेदन दिइसकेकालाई अन्तर्वार्ता लिने काम भइरहेको र धेरै मानिसहरू ग्रीनकार्ड प्राप्त गर्ने अन्तिम चरणमा थिए भनेर रोयटर्सले लेखेको छ।
