सुर्खेत । लेखक एवम् कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको कविता संग्रह ‘शाश्वत सत्य’ लोकार्पण (विमोचन) भएको छ । शनिबार वीरेन्द्रनगरमा औपचारिक कार्यक्रमकाबीच वरिष्ठ साहित्यकार एवम् प्रगतिशील लेखक संघका अध्यक्ष डा. मधुसूदन घिमिरे, डा. नवराज लम्साल, ओम रिजाल लगायतले संयुक्त रुपमा कविता संग्रह लोकार्पण गरेका हुन् ।
कविता संग्रहका लेखक मन्त्री भण्डारीले राजनीतिभन्दा साहित्य शक्तिशाली भएको भन्दै आफूले साहित्य र राजनीतिकलाई सँगसँगै लिएको बताए । दोस्रो कवितासंग्रह बजारमा ल्याएका कवि भण्डारीले कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिको सभापतिहुँदा कर्णालीका विभिन्न जिल्लामा पुग्दाको क्षणलाई यात्रा अनुभूतिको रुपमा छिट्टै नियात्रा पुस्तक प्रकाशन गर्ने घोषणा गरे । बदलिदो परिवेश, जीवनशैली र मानव जीवनका केही अंशहरुलाई कविता संग्रहमा संग्रहित गरेको बताए । पहिले भुइमा बसेर पढ्ने स्कूलहरु, खरको छानो, टिनको छानोहुँदै भवन भयो तर पढेलेको शिक्षकहरु गाउँमा पाउन नसक्ने जस्ता विषय बस्तु पनि कविता संग्रहका अंश बनाएको बताए । ‘गाउँमा विकास पुग्यो, हामी शहरतिर झ¥यौ’ भण्डारीले भने, ‘गाउँमा बत्ति पुग्यो, बाटो पनि पुग्यो तर गाउँमा बस्ने पान्छे छैन ।’
कार्यक्रमका प्रमुख अतिथि डा. मधुसूदन घिमिरे शाश्वत सत्य कविताले नेपाली साहित्यमा एउटा इट्टा थपिएको धारणा राखे । कविता संग्रहमा मन र मस्तिकको सन्तुलन गर्न खोजीएको भन्दै सर्जक र समाजसेवी भावनाले भरिएको उल्लेख गरे ।
डा. लम्सालले विचारमा संगठित हुनेहरु राजनीतिज्ञ भएको तर्क गर्दै विचारभन्दा माथि उठेर विवेक प्रयोग गर्नसक्नेहरु मात्र साहित्यकार हुने बताए । विवेकमा खेल्ने र लेख्नेहरुको राजनीतिक भविष्य पनि उज्यालो भएको भन्दै उनले मन्त्री भण्डारीलाई विचारभन्दा माथि उठेर विवेकको तहमा पुगेको भनेर प्रंशसा गरे । मन्त्री भण्डारीकै अग्रसरतामा सामाजिक विकास मन्त्रालयले हालै प्रकाशन गरेको खस भाषाको शब्दकोशको प्रकाशन र बागिना समूहको भवनले विवेकको पुष्टि गरेको धारणा राखे ।
त्यस्तै अर्का साहित्यकार ओम रिजालले कविता संग्रहले जीवनका अध्यारा पक्षहरूलाई पन्छ्याउँदै उज्यालोतर्फ हुनुपर्ने सन्देश दिएको बताए । उनले विद्रोही चेतका साथ मानिसको जीवन मरणका हरेक कोणहरू कवितामा समेटिएको भन्दै शरीर र आत्मवीच भ्रमित रहेको बताए ।
कविता संग्रहमाथि समीक्षा गर्दै साहित्यकार एवम् मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक वासुदेव पाण्डेले शाश्वत सत्य अञ्चालिक कविता संग्रह भएको बताए । कविता संग्रहमा सत्य प्रेम, अभावको पाठशाला र कर्णालीको गौरवय इतिहास र संस्कृततिलाई लिपिबद्ध गरिएको बताए । उनले मानव जीवनका हरेक कालखण्डहरुलाई सुन्दर रुपमा उतारिएको, नयाँ पुस्ताले हाम्रो कला र संस्कृतलाई भुल्न थालेको वास्तविकतालाई कविले कवितामा कैद गर्न सक्नु सुखद पक्ष भएको उल्लेख गरे ।
विमोचन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्का, रणसिह परियार, जुम्कित लामा, मिलन खड्का, सामाजिक विकास मन्त्रालय निमित्त सचिव जहवारलाल हमाल सहित विभिन्न विधामा कलम चलाउने साहित्यकारहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित शिर्षकहरु
