सुर्खेत। ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुने भएको छ। नेपाल भलिबल संघको आयोजनामा पुस २० देखि २६ गतेसम्म सञ्चालन हुने भएको हो।
मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत आयोजनाका बारेमा जानकारी गराइएको हो।
सात प्रदेश र तीन विभागीय टिमको सहभागी हुनेछन्। आयोजनाको लागि कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापन रहेको छ।
नेपाल भलिबल संघको संखुवासभामा भएको अधिवेशनले प्रतियोगिता सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको थियो।
कर्णाली प्रदेश भलिबल संघका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार यो खेलबाट नेपालको लागि राष्ट्रिय टिम छनोट हुने जनाइएको छ। खेलाडीको गास र बासको व्यवस्थापन प्रदेश भलिबल संघले गर्ने बताइएको छ।
खेलका लागि आवश्यक तयारी भइरहेको छ।
कर्णालीमा राष्ट्रियस्तरका प्रशिक्षक आउन सकेका छैनन्। तसर्थ यो खेलले कर्णालीको भलिबल प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।