सुर्खेत । नेपाल तेक्वान्दो संघ कर्णाली प्रदेशको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघको आर्थिक र प्रगति प्रतिदनमाथी शनिबार छलफल भई सभाबाट पारित गरी साधारण सभा समापन भएको हो ।
संघका अध्यक्ष महेन्द्र शाहीको अध्यक्षतामा भएको साधारण सभामा महासचिव सशीराम विश्वकर्माद्वारा प्रगति प्रतिवेदन र कोषाध्यक्ष खिमराज बसेलद्वारा आर्थिक प्रतिवेदन पेश गरिएको थियो ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । मन्त्री पोखरेलले सम्बोधनका क्रममा कर्णालीको खेल क्षेत्रका विकासका लागि आफुहरु तदारुकताका साथ लागिरहेको बताए । उनले दिनमा तेक्वान्दोलाई पनि प्राथमिकतामा राखी प्रतियोगिताहरु आयोजना गरिने जानकारी दिए ।
यस्तै, साधारण सभामा नेपाल तेक्वान्दो संघका केन्द्रीय महासचिव दीपराज गुरुङले तेक्वान्दो खेलप्रति राज्यको लगानी कम भएको गुनासो व्यक्त गरे । अन्र्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा नेपालले बढिजसो पदकहरु तेक्वान्दो विधामै प्राप्त गरेपनि यसको संरक्षण र प्रवद्र्धनमा सरकार लगानी नभएको उनको भनाई थियो । आगामी दिनमा सरकारले तेक्वान्दोका लागि विशेष योजना बनाउनुपर्ने उनको धारणा थियो ।
साथै, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले दशैं रास्ट्रिय खेलकुद प्रतियाेगिताको पूर्वसन्ध्यामा कर्णालीको खेलकुदको उन्नतिका लागि परिषद् लागिपरेको र तेक्वान्दो प्राथमिकतामा रहेको बताए ।
दशौं राष्ट्रिय खेलकुदमा कर्णालीले दोहोरो अंकमा गोल्ड मेडल प्राप्त गर्ने लक्ष्य अनुरूप तयारी गरिरहेकाे जानकारी दिँदै त्यसको हिस्सेदार तेक्वान्दो पनि हुनसक्ने विश्वास व्यक्त गरे । त्यसका लागि परिषद् हरबखत सहयोग गर्न तत्पर रहेको जनाए ।
साधारण सभामा तेक्वान्दो संघमा आवद्ध प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।