सुर्खेत । कर्णाली प्रदेश सभा समाजिक विकास सभापति घनश्याम भण्डारीले रोजगारीका लागि जीवनलीला नै सकिनु राज्यका लागि लज्जाको विषय भएको बताएका छन् । रोजगारीलाई संवैधानिक मौलिक हकमा राखेर त्यसैका लागि नागरिकको मृत्य हुनु लज्जाको विषय भएको बताउँदै यसकाे जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाई छ ।
दैलेख निर्वाचन क्षेत्र नं. २ (ख)बाट निर्वाचित प्रदेश सभा सदस्य समेत रहेका भण्डारीले ललितपुरको बालकुमारीमा कोरियाली भाषा परीक्षा सम्बन्धी विषयलाई लिएर भएको प्रदर्शनप्रति ध्यानाकर्षण भएको जनाएका छन् । उनले शान्तीपूर्वक असन्तुष्ट व्यक्त गर्ने लोकतान्त्रिक व्यवस्था हुँदाहुँदै आक्रोसित भीडले मन्त्री सवार गाडी जलाउनु र त्यसको प्रतिकारमा राज्यका निकायले ज्यानै लिनु गम्भीर विषय भएको प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।
प्रदर्शनका क्रममा मृत्यु भएका दैलेखको महाबु गाउँपालिका–६ रानीवनका सुजन रावत र अछामको चौरपाटी गाउँपालिका–१, सिउडीका वीरेन्द्र शाहप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
‘प्रत्येक नागरिकको संरक्षण गर्नु राज्यको जिम्मेवारी हुनुपर्नेमा शान्तीपूर्वक आन्दोलनलाई मथ्थर पार्ने उपाय हुँदाहुँदै पनि ज्यानै जाने किसिमको कार्य हुनु निन्दनीय छ ।’ विज्ञप्तीमा भनिएको छ ।
साथै, सरकारले बनाएको छानविन समितिले घटनाको सत्य–तथ्य छानविन गरी दोषीलाई कानूनी कार्वाही गर्नुका साथै परिवारको परिपूरण र उचित क्षतपूर्तिको माग गरेका छन् ।
घटनाको जिम्मेवारी लिई घाइतेको निःशुल्क उपचारको व्यवस्था सहित प्रदर्शनकारीले उठाएका जायज मागहरुलाई सम्बोधन गर्न नेपाल सरकारसँग माग गरेका छन्।