काठमाडौं । त्रिभुवन विमानस्थलबाट ६० किलो सुन तस्करी भएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ५० जनालाई प्रतिवादी बनाएको छ । उक्त घटनाको अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउन लागेको हो ।
सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यका अनुसार सिआइबीले प्रतिवादीमध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार रहेका छन् । पक्राउ पर्नेमा २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन् । फरार हुनेमा १४ विदेश र ४ जना नेपाली नागरिक छन् ।
फरार हुनेमा माओवादी उच्च नेताहरूसँग सम्बन्ध भएको भनिएकी अमला रोक्का मगर पनि छन् । अमलाका श्रीमान् चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रहरीले पक्राउ गरेको छ । यो प्रकरणमा अहिलेसम्म पक्राउ परेकामध्ये उनको मुख्य भूमिका रहेको देखिएको प्रहरीले जनाएको छ ।
यो तस्करीमा संलग्न रहेकाहरूले ३६२ किलो सुन तस्करी गरेको खुलेको बज्राचार्यले जानकारी दिइन् ।
सिआइबीले तस्करी संलग्नहरूलाई विभिन्न ७ कसूरमा मुद्दा चलाउन मिल्ने प्रतिवेदनमा उल्लेख छ ।