काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई निर्वाचन आयोगले जरिवाना तिर्न निर्देशन दिएकाे छ । प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३ सय ९८ जना उम्मेदवारलाई खर्च विवरण नबुझाएको भन्दै कारबाहीका लागि निर्देशन गरेकाे हाे।
प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी जम्मा २ हजार ४ सय ३५ जनालाई आयोगले १५/१५ हजारका दरले जरिवाना ताेकिएकाे छ। साथै सात दिनभित्र खर्च विवरण बुझाउन पनि आयोगले निर्देशन दिएको छ ।
यससँगै खर्च विवरण बुझाउनेहरूको पनि नामावली आयोगले सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसका गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, माओवादी केन्द्रकी ओनसरी घर्तीसहितका सांसदहरूको नाम पनि खर्च विवरण नबुझाउनेहरूको सूचीमा छ ।
यस्तै आयोगले ७४ जना उम्मेदवारहरूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।