काठमाडाैं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाहले पार्टी पदाधिकारीहरूले गुट बनाएकाे बताएकाे छन्। ती गुटहरूकाे आफु प्रत्यक्ष सिकार भएकाे उनकाे बुझाइ छ।
बिहीबारको केन्द्रीय समितिमा धारणा राख्दै उनले गुटको प्रत्यक्ष सिकार जनता र कार्यकर्ता सँगसँगै रहने आफूसमेत भएको गुनासो पोखे। ‘पदाधिकारी नै गुट बनाउँछन्, यसको सिकार हामीजस्ता परिरहेका छौं। सभापतिज्यू, म प्रत्यक्ष सिकार भएँ,’ उनले भने।
आफू प्रतिनिधित्व गर्ने जिल्ला जाजरकोटमा सहमतिकै आधारमा नेतृत्वसहित प्रतिनिधि चयन गरिएको बताए।
कम्युनिष्टहरूको आधार क्षेत्रबाट आफू २ पटक निर्वाचित भए पनि गुटको सिकार भइरहनुपरेको गुनासो उनको छ।
‘महाधिवेशनमा लोकप्रिय मतका साथ केन्द्रीय सदस्य भए। कर्णाली प्रदेश सभामा संसदीय दल नेताको आकांक्षा राखेको थिएँ तर दिएनन्,’ उनले भने, ‘किन? नेताहरूले छलफलमा बोलाउँछन् कि भन्ने थियो।’
संसदीय दलमा प्रतिस्पर्धा गर्ने चाहना राख्दा गुट तथा उपगुटको सिकार हुनुपरेको उनले बताए।