काठमाडाैं। नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ नियम लागू गर्ने भएको छ। आन्तरिक हवाई उडान थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले नयाँ नियमबारे छलफल चलाएकाे हाे।
हाल उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल भइरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनापछि उड्डयन क्षेत्रलाई थप व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गर्न लागिएको हो।
प्राधिकरणले केही समयभित्रै लागू हुने गरी पाँच वटा नयाँ नियम ल्याउने भएको हो।
नियम लागू भएपछि पाइलटको ड्युटी समय एक घन्टा कम हुनेछ। अहिले दैनिक उडान (टेकअफ) र अवतरण (ल्यान्डिङ) दुवै गरी दस पटकसम्म गर्न पाउने व्यवस्था छ। यसलाई पनि घटाएर आठ पटक मात्र बनाइने छ।
यसअघि कुनै पनि उडानमा चालक दलका सदस्य दुई जनाभन्दा धेरै हुँदा आवश्यक परेको खण्डमा तोकिएभन्दा थप समय उडान गर्न सकिन्थ्यो थियो। यसरी थप समय उडान गर्दा चालक दल थाक्ने सम्भावना हुने भएकाले जोखिम न्यूनीकरण गर्न यो व्यवस्था खारेज गरिने भएको छ। अब चालक दलमा दुईभन्दा बढी सदस्य हुँदा पनि थप समय उडान गर्न नपाइने भुलले जानकारी दिए।
कुनै एक गन्तव्यबाट जहाज उडाएर गएको पाइलटको जोडी (पाइलट र को-पाइलट) बीचमा परिवर्तन गर्न सकिने व्यवस्था पनि खारेज हुनेछ। विशेषगरी अन्तर्राष्ट्रिय उडानमा यस्तो प्रचलन छ। उडानकै क्रममा पाइलट परिवर्तन गर्दा जोखिम हुने भएपछि प्राधिकरणले यस्तो नियम ल्याएको हो।
पाइलटहरूको सीप परीक्षणसँग सम्बन्धी पनि नयाँ नियम हुने छ। आन्तरिक वायुसेवा कम्पनीमा उडान गर्ने डिसिपी (डेजिग्नेटेड चेक पाइलट) हरूको सीप परीक्षण अब सम्बन्धित विमान निर्माता कम्पनीको ‘फ्लाइट क्रु इक्जामिनर’ (चालक दल परीक्षक) ले मात्र गर्न पाइने भएको छ।
इन्सट्रक्टर पाइलटमध्येबाट छानेर प्राधिकरणले सम्बन्धित एयरलाइन्समा काम गर्ने जिम्मेवारी दिएको हुन्छ। तिनै पाइलटहरू डेजिग्नेटेड चेक पाइलट (डिसिपी) हुन्छन्। अर्धवार्षिक अथवा वार्षिक रूपमा उनीहरूको पनि तालिम हुन्छ।
प्राधिकरणले नयाँ व्यवस्था जहाजको उडान प्रणाली र उचाइसँग पनि सम्बन्धित छ। सूचना अधिकारी भुलका अनुसार सामान्यतया हाम्रा विमानस्थलमा दुई प्रणालीमा उडान/अवतरण हुन्छन्; भिएफआर (भिजुअल फ्लाइट रूल) र आइएफआर (इन्सट्रुमेन्ट फ्लाइट रूल)।
आइएफआरमा यन्त्रको सहायताबाट उडान/अवतरण नियमन हुन्छ भने भिएफआरमा ककपिटबाट पाइलटले अगाडि हेरेरै गर्छन्।
नयाँ नियमअनुसार छोटो धावनमार्ग भएका पहाडी र हिमाली क्षेत्रका विमानस्थलमा भिएफआर प्रणालीअन्तर्गत उडान गरेको विमानले पाँच सय फिटभन्दा तल पुगेमा अवतरण गर्ने बेलामा रनवे परिवर्तन गर्न पाउने छैन। अर्थात् पाँच सय फिटमुनि पुग्दा पाइलट जुन रनवेमा छ, त्यसमै जहाज अवतरण गराउनु पर्नेछ।
त्यस्तै सुगम तथा ठूलो रनवे भएका विमानस्थलमा एक हजार फिटमुनि पुगेका जहाजले रनवे परिवर्तन गर्न पाउने छैनन्। यसअघि यो नियम पाँच सय फिटमुनि हुँदा लागू थियो।