सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन्। थानीले ३४ हजार ६२५ मत प्राप्त गरी विजय भएका हुन्।
कुल ७६ हजार ३५२ मत खसेको थियो ।
थानीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहनुभएका अमृत बहादुर बुढाक्षेत्री ५ हजार ६७ मतान्तरले पराजित भएका छन्। बुढाक्षेत्रीले २९ हजार ५५८ मत प्राप्त गरे।
२०७४ को निर्वाचनमा पराजित भएका थानीले यसपटक फराकिलो अन्तरमा विजय भएका हुन्।
थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए भने सहकारी तथा गरिवी निवारण मन्त्री भइसकेका छन्।
को हुन् थानी ?
थानी ०१७ जेठ २६ गते पिता पद्मलाल थानी र माता देवी थानीको पुत्रको रुपमा बयलकांडा सुर्खेतमा जन्मिएका हुन्। अहिले उनी वीरेन्द्रगनर नगरपालिका–१ मा बस्दै आएका छन्। इन्जिनियररिङ क्याम्पस, पुलचोकबाट उच्च अध्ययनका क्रममा आइई गरेका उनले शंकरदेव क्याम्पस व्यवस्थापन संकायमा स्नातक र त्रिवि कीर्तिपुरबाट एमए गरेका छन्।
विद्यार्थी राजनीतिमा शुरु देखि नै लागेका थानी नेपाल विद्यार्थी संघ इकाई समिति, इन्जिनियरिङ क्याम्पस, पुलचोक ललितपुर, २०३५–२०३९ सम्म सभापति भएका थिए। स्वतन्त्र विद्यार्थी युनियन, शंकरदेव क्याम्पस, काठमाडौं, २०४१–२०४३ सम्म सभापति भएका थानी नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिको २०४३–२०४८ सम्म उपाध्यक्ष थिए।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति, सुर्खेतको २०४५–२०५२ सम्म सदस्य रहेका थानी नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर २, सुर्खेतको सभापति पनि भए। नेपाली कांग्रेस जिल्ला कार्य समिति, सुर्खेतको २०५९÷२०६० मा सभापति भएका उनले नेपाली कांग्रेस, केन्द्रीय समन्वय विभागको सदस्य सचिव भएर पनि काम गरेको उनीसँग अनुभव छ।
नेपाली कांग्रेसको १३ औं महाधिवशेनबाट उनी प्रदेश नम्बर ६ बाट केन्द्रीय सदस्यमा निर्वाचित भए। थानीको राजनीतिक यात्रा संघर्षपूर्ण छ। उनले पटक पटक जेल जीवन बिताएका छन। २०४२ सालको सत्याग्रहको बेला भद्रगोल जेल गए भने २०४५ सालको नेपाल विद्यार्थी संघद्धारा गरिएको आन्दोलनका क्रममा सेन्टर जेल, पुगे। फेरि २०४६ सालको जनआन्दोलनमा उनलाई भद्रगोल जेलमा राखिएको थियो।