सुर्खेत। विहिबार राति १२ बजेदेखि स्थिर समय सुरु भएको छ । मङ्सिर ४ गते (आईतबार) हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि स्थिर समय सुरु भएको हो ।
निर्वाचनलाई स्वच्छ, मर्यादित र निश्पक्ष बनाउनका लागि निर्वाचन आयोगले मतदान हुनुपूर्वको समयलाई स्थिर समय निर्धारण गरेको हो ।
स्थिर समयलाई मौन अवधिको समयका रुपमा समेत लिन सकिन्छ । यो अवधिमा निर्वाचन प्रचार प्रसार लगायत कुनैपनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी जस्ता कार्यहरु गर्न पाइदैन ।
मतदान हुने दिनको ४८ घण्टा अघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार प्रसार सामाग्री हटाउनुपर्छ ।
सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनैपनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउन हुदैन ।
निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउण्ड सिस्टम, सर्ट मेसेज, सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्न हुदैन ।
मतदान कार्य सुरु हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदान वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पु¥याउने कार्य गर्न हुदैन ।
बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन पाइदैन ।
मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पर्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भंग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउन पाइदैन ।
यस्तै, राजनीतिक दल तथा उम्मेदवार, दलका भातृ संगठनहरुले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनु पर्ने निर्वाचन आयोगले जनाएको छ ।