काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने उद्घाेष गरेका छन्। शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा औपाचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले साे बताएका हुन्।
प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गरेकाे उल्लेख गर्दै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि शुरुवात गर्ने योजना बनाएको बताए।
कोरोनाका कारण नेपालको आर्थिक अवस्था राम्रो नभएको बेलामा समेत खेलकुद विश्वविद्यालय खोल्ने सोच बनाएको प्रधानमन्त्रीको भनाइ छ।
सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो। करिब १० लाख रुपियाँ राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो। लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफूसँग राख्न पाउनेछ। नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पुर्याइनेछ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियन एवम् दक्षिण एसियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा ५ सदस्सीय ट्रफी टूर कार्यदल गठन गरेको छ। कार्यदलमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवम् साग पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य छन्।
ट्रफी आज शुक्रवार सुदूरपश्चिम पठाइने र शनिवार बिहान ८ बजे धनगढी रंगशालामा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, असोज २ गते लुम्बिनी प्रदेशको एन्फा टेक्निकल सेन्टरमा दिउँसो ३ बजे, असोज ३ गते वागमती प्रदेश हेटौंडास्थित मानसचोकमा बिहानको ८ बजे, नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा असोज ७ गते बिहान १० बजे, प्रदेश १ को विराटनगर रंगशालामा असोज ८ गते सार्वजनिक गरिने छ।
यसैगरी, ट्रफी नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय नक्शालमा असोज ९ गते, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा असोज ९ गते, कर्णाली प्रदेशको सुर्खेत रंगशालास्थित सेमी कभर्डहलमा असोज ११ गते, मधेश प्रदेशको रामजानकी मन्दिरको परिसरमा असोज १३ गते र गण्डकी प्रदेशमा असोज २३ गते सार्वजनिक गर्ने कार्यक्रम छ।
गण्डकी प्रदेशमा भने पोखरा विमानस्थलबाट बाजागाजा र झाँकीसहित ट्रफी पोखरा पुर्याइनेछ।