सुर्खेत। कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बीरबहादुर शाही नियुक्त भएका छन्। बिहिवार नियुक्त भएका शाहीले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन्।
माओवादीको सिफारिसमा उद्योग मन्त्री बनेका हुम्लाको गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) को पदावधि सकिएपछि माओवादी प्रदेश संसदीय दलले डोल्पा (ख) बाट निर्वाचित सांसद शाहीलाई सिफारिस गरेको हो।
यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिँदा सामावेशी सिद्धान्तलाई ख्याल नगरिएको भन्दै अधिवक्ता शेरबहादुर खत्री समेतले उच्च अदालत सुर्खेतमा रिट हालेका थिए।
उक्त रिटका आधारमा शाहीलाई मन्त्री नियुक्त गरेलगत्तै उच्चले सोही विषयमा मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालयलाई ध्यानाकर्षण गराएका थिए। पछिल्लो पटक मन्त्रिपरिषद पुनर्गठन गर्दा कर्णाली प्रदेश सरकारले अदालतको अवहेलना भएको अधिवक्ता खत्री बताउँछन्।
‘नेपालको संविधानको प्रस्तावनामा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने संकल्प उल्लेख छ, त्यसैअनुसार प्रदेशको मन्त्रिपरिषद गठन हुनुपर्ने हो,’ रिट निवेदक अधिवक्त खत्रीले भने, ‘महिलाको प्रतिनिधित्व भएन, परेको रिटको विषयलाई ख्यालै नगरी उही प्रकृतिको काम भएको छ।’