दैलेख। महाबु गाथ मेलामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले टिकटक भिडियो प्रतियोगिता राखिएको छ। सिक्ने अभियानद्वारा संचालित प्रोजेक्ट ठुट्टेले टिकटक प्रतियोगिताको आयोजना गरेको हो।
धार्मिक तथा पर्यटकीय रुपमा महत्वपुर्ण मानिने दैलेखको महाबुमा साउन जनैपूर्णिमाको दिन मेला लाग्ने गरेको छ। सो मेलामा उत्कृष्ट टिकटक बनाउनेलाई पुरुस्कृत गर्न लागिएको आयोजकले जनाएको छ।
सिक्ने अभियानका आर्ट संयोजक नारायण कार्कीका अनुसार उत्कृष्ट टिकटक भिडियो बनाएर पोष्ट गर्नेलाई आयोजकले आर्कषक पुरस्कारको व्यवस्था गरेको छ। टिकटक प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीले टिकटक भिडियो पोष्ट गर्दा ४ वटा ह्यासटयाग महाबु अन टिकटक (#mahabuontiktok), प्रोजेक्ट ठुट्टे (#projectthutte) , एक्सपोलोर महाबु (#exploremahabu) र दैलेख (#dailekh) अनिवार्य राख्नुपर्ने छ।
नियम पूरा गरि पोष्ट भएको एक उत्कृष्ट भिडियो बनाउनेले तीनहजार तीनसय तीन रुपैयाँ नगद, प्रोजेक्ट ठुट्टेको आकर्षक क्याप, बिजेताको फोटो (फ्रेमसहित) पुरस्कृत गरिने आयोजकले जनाएको छ। भदौ २० गतेसम्म हुने भ्युज र लाइकको आधारमा बिजेता घोषणा हुनेछ।
सिक्ने अभियानले यसअघि देखि नै देलेख जिल्लामा फोहोर, बातावरण तथा युवाहरू र एकल महिलाको क्षमता अभिवृद्धिका क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालनको सञ्चालन गर्दै आएको छ।