सुर्खेत। सुर्खेत-दैलेख सडकखण्ड दुई लेनकाे बनाउन माग गरिएकाे छ। दैलेख उद्याेग वाणिज्य संघले प्रधानमन्त्री शेरबहादुर देउवासँग सडक स्तराेन्नतिकाे लागि माग गरेका हुन्।
संघका तर्फबाट प्रधानमन्त्रीलाइ ज्ञापन पत्र समेत बुझाएकाे छ। संघका अध्यक्ष कुलबहादुर विक र महासचिव प्रकाश पौडेलले प्रधानमन्त्री देउवासमक्ष ज्ञापनपत्रसमेत बुझाएका छन्।
सुर्खेत -दैलेख सडक खण्ड दुई लेनको बनाउनुपर्ने तथा सुर्खेत दैलेख महाबु कालिकोट हुँदै नाक्चे नाङ्ला जोड्ने सडक निर्माण गर्नुपर्ने माग गरेको संघका अध्यक्ष विकले जनाए। उनले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननकाे कार्य अघि बढिरहेको अवस्थामा कोभिडको कारण रोकिएकोले उक्त कार्यलाई तत्काल सुरु गर्न प्रधानमन्त्रीसँग माग गरिएको बताए।
संघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पुष्पलाल मध्यपहाडी राजमार्गको कालोपत्रेको काम यथाशिघ्र द्रुत गतिमा सञ्चालन गर्नुपर्ने, दैलेखमा व्यवस्थित बसपार्क नभएकोले सुविधा सम्पन्न सिटी बसपार्क निर्माण गर्न माग गरेको छ।
यस्तै धार्मिक तथा पर्यटकीय स्थलको हिसावले महत्वपूर्ण मानिएको दैलेखको पर्यटन प्रर्वद्धन सम्वर्द्धन तथा आकस्मिक उपचार, दैवि प्रकोपको उद्धारका लागि विमानस्थलको निर्माण गर्न सरकारसमक्ष माग गर्नुका साथै, दैलेखको कच्चा पदार्थको सम्भाव्यता अध्ययन गरी साना तथा मझौला उद्योग स्थापना गर्न सरकारसँग माग गरिएको छ।