काठमाडौं। दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका छन्। तीनदिने भ्रमणमा नेपाल आएका हुन्।
उनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेर फर्कने कार्यक्रम छ। कुटनीतिक स्रोतका अनुसार उनी तीन सदस्यीय टोलीसहित विस्तारा विमानमार्फत भारत हुँदै केहीबेरअघि काठमाडौंमा ओर्लिएका हुन्।
काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा लु नेपालको तीनदिने भ्रमणमा आएका हुन्। लुले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गर्ने छन्।
‘उक्त कम्पनीले परम्परागत रूपमा सीमान्तकृत व्यक्तिहरू र शोषणबाट बचेकाहरूको सशक्तीकरण गर्दै नीतिपरक उत्पादनको प्रवर्द्धन गर्दछ,’ दूतावासले भनेको छ । यस्तै, सहायकमन्त्री लुले व्यापार, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग पनि भेटघाट गर्ने दूतावासले जनाएको छ । लु गत मंसिरमा नेपाल भ्रमणमा आएका थिए ।
नेपाल सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी०लाई अघि नबढाउने निर्णय गरेको एक महिनापछि लुले नेपालको भ्रमण गरेका हुन्। सरकारले असार ६ मा एसपीपीलाई अघि नबढाउने निर्णय गरेको थियो । तर सरकारले हालसम्म अमेरिकालाई औपचारिक रुपमा पत्राचार गरेर जानकारी समेत गराइसकेको छैन।
लुले मंसिरमा नेपालमा भ्रमण गर्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन भएको थिएन । उनले उक्त भ्रमणका दौरान नेपालको राजनीतिक र कूटनीतिक तहमा एमसीसी सम्झौतालाई अघि बढाउने सम्बन्धमा संवाद गरेर फर्केका थिए । नेपालको संसदले फागुन १५ मा एमसीसीलाई १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसद्बाट पारित गरेको थियो।
उनी शनिबार कतार एयरलाइन्सबाट फर्किने छन्।