काठमाडौँ। नेपालमा कोरोनाको चौथो लहर प्रवेश गरेसँगै संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । सोमबार पीसीआर र एन्टिजेन गरी ४ हजार ६ सय ५१ नमुना परीक्षण गर्दा ९.८२ प्रतिशत अर्थात् ४ सय ५७ जनामा कोभिड संक्रमण देखिएको छ ।
हाल सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७६ पुगेको छ । आइतबार ३ हजार ४१ कुल परीक्षणमा १ सय ३५ जना अर्थात् ४.४३ प्रतिशतमा संक्रमण पुष्टि भएकामा सोमबार दोब्बरले संक्रमण वृद्धि भएको हो । असार २८ गते संक्रमणदर ५.६६ रहेकामा साउन २ गते यो दर बढेर ९.८२ पुगेको छ ।
काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार उपत्यकामा सक्रिय संक्रमितको संख्या ९ सय ९२ थियो । सोमबार काठमाडौंमा १ हजार १३, भक्तपुरमा २८ र ललितपुरमा ९२ जना गरी सक्रिय संक्रमितको संख्या १ हजार १ सय ३३ पुगेको छ । काठमाडौंमा ५ सयभन्दा बढी संक्रमित छन् । प्रदेश १ मा १ जना, वाग्मती प्रदेशमा १४ जना गरी १५ जना आईसीयू र वाग्मती प्रदेशकै एक जना भेन्टिलेटरमा छन् ।
कोरोना संक्रमणका कारण दुई दिनमा दुई जनाले ज्यान गुमाएका छन् । करिब अढाई महिनामा कोरोना मृत्यु शून्य रहेकामा पछिल्लो दुई दिनमै संक्रमणका कारण दुई जनाको मृत्यु भएको हो । मृत्यु भएका संक्रमितमा दीर्घरोग पनि नभएको पाइएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएका दुवै जनाले कोरोनाविरुद्धको खोप लगाएका थिएनन् । यसअघि गत वैशाख २१ मा एक जनाको मृत्यु भएको थियो ।
सोमबारसम्म कुल जनसंख्याको ७०.१ प्रतिशत अर्थात् २ करोड ४ लाख ६४ हजार ६ सय ३९ जनाले पूर्ण खोप लिएका छन् । ७०.४ प्रतिशत अर्थात् २ करोड ५ लाख ४८ हजार ४ सय ९४ जनाले एक मात्रा र २३.७२ प्रतिशत अर्थात् ६९ लाख २४ हजार ६ सय २१ जनाले अतिरिक्त खोप लिएका छन् । सरकारले हाल ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप दिइरहेको छ ।