काठमाडाैं। संसदीय विशेष समितिले बुधबार अर्थ मन्त्रालयसँग पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग सम्बन्धित कागजात र विवरण माग्ने भएको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले समितिको कार्यविधि पारित गरेको छ।
समिति सचिव सुरेन्द्र अर्यालले आजको बैठकमा सर्वसम्मतिबाट समिति सभापति छान्ने निर्णय पनि भएको बताए। बुधबार दिउँसो फेरि समितिको बैठक बस्नेछ। उक्त बैठकले सभापतिको टुंगो लगाउने छ।
आजको बैठको सभापतित्व जेष्ठ सदस्यका हैसियतमा लोसपा सांसद लक्ष्मणलाल कर्णले गरेका थिए।
समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य छन्। यो समितिमा नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत रहनेछन्।
यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा छन्।
शर्माले अर्थमन्त्री हुँदा २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति लगेर करका दर हेरफेर गरेको आरोप छ।