काठमाडौं । कोरोना भाइरसविरुद्धको १० लाख डोज भन्दा बढी खोप खेर जाने अवस्थामा पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाको तथ्यांक अनुसार साउनको पहिलो साता कोभिसिल्डको १० लाख ७९ मात्रा खोपको म्याद गुज्रिदैछ ।
सरकारले कोभ्याक्स सुविधामार्फत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख ७० हजार कोभिसिल्ड खोप प्राप्त गरेको थियो । समयमा लगाउन नसक्दा सोही खोपमध्येको १० लाख भन्दा बढी खोप म्याद गुज्रिएर खेर जान लागेको हो ।
विभागको तथ्यांक अनुसार मोडेर्नाको पनि ६७ हजार वटा खोप अर्थात ६ हजार ७०० भाइल खोप पनि खेर गएको छ ।
सरकारसँग केन्द्रीय भण्डारण केन्द्र, प्रदेश, जिल्ला, स्थानीय खोप केन्द्रसम्म ८५ लाखभन्दा बढी मात्रा खोप भण्डारण रहेको महाशाखाको तथ्यांक छ । जसमा कोभिशिल्ड १० लाख ८९ हजार, भेरोसेल ४४ लाख, फाइजर ७ लाख ३५ हजार (युवा), जोन्सन एण्ढ जोन्सन १ लाख ७७ हजार, २३ लाख ४० हजार मात्रा (बालबालिको लागि) खोप भण्डारण गरिएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म १२ वर्षमाथिकाले ९९.१ प्रतिशतले एक मात्रा, ८७.४ प्रतिशतले दोस्रो मात्रा र ३२ प्रतिशतले अतिरिक्त खोप (बुस्टर डोज) लगाएका छन् ।