सुर्खेत । नेपाली कांग्रेसले आफ्नो चुनावी वाचा (घोषणा)पत्र वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया भण्डारी (ढकाल)लाई हस्तान्तरण गरेको छ । बुधबार (आज) मेयर पदका प्रत्यासी एवम् कांग्रेस वीरेन्द्रनगर नगर कार्यसमितिका नगरसभापति उपेन्द्रबहादुर खड्काले मेयर भण्डारीलाई बधाई ज्ञापन गर्दै आफ्नो वाचापत्र हस्तान्तरण गरेका हुन् ।
वीरेन्द्रनगर नगरपालिकाको विकास र सम्मृद्धिका लागि नेपाली कांग्रेसले जनतासामु गरेको वाचालाई कार्यान्वयन गरिदिनका लागि सुझाव सहित नगरप्रमुखलाई वाचा पत्र हस्तान्तरण गरिएको कांग्रेस नगरसभापति खड्काको भनाई छ ।
‘वडा–वडाबाट जनताका आवश्यकता र मागहरुलाई समेटेर हामीले घोषणापत्र तयार गरेका थियौं,’ खड्काले भने, ‘घोषणापत्रमा लेखिएका विषयहरु कार्यान्वयन गर्ने ठाउँमा आफू नपुगेकाले त्यसलाई कार्यान्वयन गराउनका लागि निर्वाचित नगर प्रमुखलाई हस्तान्तरण गरेका हौं।’
कांग्रेस नगर सभापतिसमेत रहेका खड्काले नगरको फोहरमैला व्यवस्थापन गर्न, उत्तरी क्षेत्रका जनताका लागि स्वास्थ्य र यातायातमा सहज पहुँच बढाउन, सोतखोलामा मानव निर्मित ताल निर्माण गर्न, हरेक महिना कार्यपालिका बैठक लगत्तै नगरका गतिविधिहरुलाई पत्रकार सम्मेलनमार्फत जानकारी गराउन, घरघरमै गर्भजाँच सेवा सुरु गर्न, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई घर–आँगनमै सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य सेवा पुर्याउनका लागि पनि ध्यानाकर्षण गराए।
साथै, कांग्रेसको वाचा पत्र बुझ्दै नगरप्रमुख भण्डारीले नगरको विकासका लागि राजनीतिक दलका सुझावलाई साझा एजेण्डाको रुपमा लिदैं कार्यान्वन गरिने बताईन् । उनले कांग्रेसले देखाएको हार्दिकताप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सल्लाह सुझावको अपेक्षा राखेको बताईन् ।
‘चुनावमा सबै राजनीतिक दलहरुले जनता समक्ष नगरपालिकालाई राम्रो बनाउने प्रतिवद्धता जनाएका थियौं,’ उनले भनिन्, ‘कार्यान्वयन गर्ने ठाउँमा म पुगेकाले सबैका चुनावी प्रतिवद्धतालाई समेत समेटेर काम गर्नेछु।’
वाचापत्र हस्तान्तरण कार्यक्रममा कांग्रेस नगरसचिव रमेश सापकोटा, सहसचिव मिलन कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार :