सुर्खेत । नेपाली कांग्रेसबाट वीरेन्द्रनगर नगरपालिकाको मेयरमा उम्मेद्वार सिफारिस भएका दुई जनाले दावी फिर्ता लिएका छन् । उम्मेद्वारीका लागि दावी फिर्ता लिनेमा कांग्रेस संस्थापन इतर पक्षका नारायण कोइराला र भुपेन्द्र केसी रहेका छन् ।
उनिहरूले कांग्रेस क्षेत्रीय कार्यसमिति सुर्खेत क्षेत्र नं. २ लाइ निवेदन दिएर उम्मेद्वारी फिर्ता लिएकाे जनाएका हुन् ।
दुवै जनाले कांग्रेस नगर कार्यसमितिले एकलौटी रुपमा उम्मेद्वारी सिफारिस गरेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै उम्मेद्वारी फिर्ता लिएका हुन् ।
सुर्खेत जिल्लाभर रहेका वडातहदेखि पालिकासम्म संस्थापनइतर समुहलाई सम्मानजनक ४० प्रतिसत उम्मेद्वारी नहुँदासम्म आफुहरुको एकल उम्मेदवारीको अर्थ नहुने भन्दै कोइराला र केसीले उम्मेद्वारी फिर्ता लिएको बताएका छन् ।
शुक्रबार वीरेन्द्रनगर नगर कार्य समितिले सभापति उपेन्द्र खड्का सहित हरि विष्ट र चाँदनी ढकालको नाम सिफारिस गरेको थियो । नगर कार्यसमितिले तीन जनाको मात्रै नाम सिफारिस गरेपछि प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमितिले रायसहित गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्रीको नाम थपेको थियो ।