काठमाडौं । यस वर्ष हिले दशैं हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । यस वर्षको मनसुन बहिर्गमनको तत्काल सम्भावना नदेखिएकाले दशैंसम्म पनि पानी पर्ने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले भनिन्, ‘दशैंसम्म मनसुन रहनसक्ने सम्भावना छ । त्यो भनेको वर्षा हुन सक्छ भनेको हो ।’ सन् २०२२ मा पनि दशैंको टीकाको दिन देशका अधिकांश भागमा वर्षा भएको थियो ।
यस वर्षको मनसुन सरदर मिति (जुन १३) भन्दा तीन दिन छिटो (जुन १० अर्थात् जेठ २८ गते) नेपाल भित्रिएको थियो । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ । यस वर्षको अक्टुबर २ (असोज १७ गते) घटस्थापनाको अघिल्लो दिन परेको छ । यसैगरी दशैंको टीका असोज २६ गते परेको छ । मौसमविदहरु मनसुनको प्रणालीलाई हेर्दा दशैंको टीकाको दिनसम्मै मनसुन नेपालबाट बाहिरिने सम्भावना नरहेको बताउँछन् ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेल पनि यस वर्ष हिले दशैं हुने बताउँछन् । ‘यस वर्ष दशैंसम्म मनसुन नबाहिरिने सम्भावना देखियो,’ डा. पोखरेलले भने, ‘मंगलबारदेखि दशैंसम्मै वर्षाको सम्भावना छ ।’ मौसमविदका अनुसार केही वर्षयता नेपालमा मनसुन अवधि औसतभन्दा लम्बिने र वर्षा पनि अस्वाभाविक हुने गरेको छ । यसो हुनुमा जलवायु परिवर्तनलाई प्रमुख कारण मानिएको छ ।
नेपालमा विगत एक दशकलाई हेर्दा सरदर मितिभन्दा पछिसम्म मनसुन कायम रहेको देखिएको छ । मनसुन बहिर्गमनको सरदर मिति (अक्टुबर २) आउन १० दिन बाँकी छ । यतिबेलासम्म भारतको राजस्थानबाट मनसुन बाहिरिँदै गएको देखिन्थ्यो र त्यसको केही दिनपछि नेपालबाट पनि बाहिरिन्थ्यो ।
तर अहिलेसम्म मनसुन बाहिरिने कुनै पनि संकेत नदेखिएको जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी पोखरेल बताउँछिन् । ‘दशैंको बेलामा मनसुन बाहिरनका लागि यतिबेलासम्म विथड्रलको संकेतहरु देखिन्छ । तर अहिलेसम्म हाम्रो सिस्टमले कतै पनि विथड्रलको संकेत देखाएको छैन,’ उनले भनिन् । विगतका वर्षहरुमा पनि अक्टोबरसम्म मनसुन कायम रहेको र यस वर्ष पनि त्यस्तै सम्भावना रहेको उनले बताइन् ।
नेपालमा मनसुनी वर्षाको विवरण राख्न थालेको वर्ष १९६८ देखि हालसम्म सबैभन्दा ढिलो सन् २०१३ मा मनसुन बाहिरिएको थियो । सो वर्ष १९ अक्टुबरमा मनसुन बाहिरिएको रेकर्ड छ । यसैगरी सबैभन्दा छोटो अवधि सन् १९७९ मा ७३ दिनसम्म (जुन २४ देखि सेप्टेम्बर ४सम्म) मात्र मनसुन कायम थियो ।
जुन, जुलाई, सेप्टेम्बर र अक्टुबर चार महिनालाई मनसुनको अवधि मानिन्छ । यी चार महिनाको सरदर ११२ दिनको अवधिमा झण्डै १५ सय मिलिमिटर वर्षा हुन्छ । यस वर्ष भदौ अन्तिम सातासम्म ९७ प्रतिशत वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसमविदका अनुसार केही वर्षयता नेपालमा मनसुन अवधि औसतभन्दा लम्बिने र वर्षा पनि अस्वाभाविक हुने गरेको छ । यसो हुनुमा जलवायु परिवर्तनलाई प्रमुख कारण मानिएको छ ।