लुम्बिनी । कपिलवस्तु नगरपालिका-१ जमुहार टोलमा दश दिनअघि दुई घरका चार जनालाई डसेको गोमन जातको विषालु सर्पलाई उद्धार गरिएको छ।
वडाध्यक्ष जाहिद खाँको आग्रहपछि डिभिजन वन कार्यालय, कपिलवस्तुको टोलीले उक्त सर्पलाई पीडितकै घरबाट उद्धार गरेको हो। सशस्त्र वन रक्षक सरेन्द्र क्षेत्री र कुलबहादुर थापाले सर्पलाई नियन्त्रणमा लिई उद्धार गरेका थिए।
गत साउन २७ गते सोही सर्पले टोकेर १३ वर्षीय चिराग कसौधनको मृत्यु भएको थियो, भने उनका १५ वर्षीय दाइ राज कसौधनलाई पनि सर्पले टोकेको थियो। अहिले उनको अवस्था सामान्य रहेको छ।
यस्तै, साउन २८ गते, छिमेकी ११ वर्षीय अनमोल गुप्ता र १५ वर्षीय अस्मिता गुप्तालाई पनि सोही सर्पले डसेको थियो। दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष खाँले जानकारी दिए।
यसअघि, वन डिभिजनको टोलीले सर्पको खोजी गर्दा फेला पार्न सकेको थिएन। तर, चार जनालाई टोकेको सर्प फेला नपर्दा जमुहारमा त्रास फैलिएको थियो। फेला परेको सर्पलाई तिलौराकोट साझेदारी वन क्षेत्रमा लगेर छाडिएको वन वरिष्ठ अधिकृत खिलबहादुर तामाङले बताए।