दैलेख। दैलेखमा पेट्रोलियम पदार्थको बेल (अन्वेषणात्मक) ड्रिलिङ कार्यको उद्घाटन गरिएको छ। सङ्घीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले अन्बेषणात्मक ड्रिलिङ कार्यको उद्घाटन गरेका हुन्।
दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण तथा उत्खनन्का लागि आवश्यक पर्ने पूर्वाधार निर्माण र उपकरण जडान कार्य सकिएसँगै बेल सुरू गरिएको हो।
उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन भएमा मुलुक आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने बताए।
उनले देशमा भएका थुप्रै खानीहरूको अध्ययन अनुसन्धान गरी उत्खनन गर्न नेपाल सरकार लागिरहेको बताए।
खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले पेट्रोलियम पदार्थको उत्खननको अन्तिम अन्वेषण तथा उत्खननको मुख्य ड्रिलिङका लागि आवश्यक उपकरण जडान गरिसकेपछि मुख्य ड्रिलिङको काम सुरु भएको जानकारी दिए।
उनले मुख्य ड्रिलिङको काम सुरु भएको चार महिनाभित्र सम्पन्न गरिसक्ने गरी काम भइरहेको जानकारी दिए।
उनका अनुसार अहिलेसम्म १७५ वटा ट्रकहरू दैलेख पुगेका छन्। अझै बाँकी रहेको उपकरणहरू ल्याउने काम भइरहेको छ ।
चीनको केरुङ नाकाबाट अन्य उपकरण ल्याउने तयारी गरिरहेको परियोजनाका प्रतिनिधिले जनाए ।
दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्न २०७२ चैतमा चीन र नेपालबिच प्रधानमन्त्रीस्तरीय द्विपक्षीय समझदारी भएको थियो । २०७६ फागुनमा विभाग र चिनियाँ जियोजिकल सर्भे कम्पनीबिच अन्वेषण र उत्खनन् गर्न २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सम्झौता भएको थियो ।
पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भेगरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको थियो ।