सिकलसेलका बिरामीहरु नियमित विद्यालय जान सकिरहेका छैनन् । रोग पत्ता लागिसकेपछि उनिहरुले जीवनपर्यन्त नियमित औषधी सेवन गर्नुपर्ने हुन्छ । सुर्खेतका सिकलसेल बिरामीका लागि नियमित औषधी गर्न उनिहरु नेपालगञ्ज जानुपर्छ । जुन सुर्खेतदेखि कम्तिमा ३ घण्टाको यातायात दुरीमा छ । उनिहरुले महिनामा एक पटक अनिवार्य स्वास्थ्य परिक्षण गर्नुपरेको बताउछन् । त्यसैले प्रत्येक महिना उपचारका लागि जानुपर्नेे अवस्थापछि विद्यालय छोड्ने गरेको उनिहरुको दुःखान्त छ ।
‘१७ वर्षको हुँदा एसएलसी दिएँ । त्यसपछि स्कुल जानै सकिनँ । स्कुल पनि टाढा भयो ।’ संगीता चौधरीले भनिन्, ‘अस्पताल चेक गर्न जाँदा कहिलेकाँही हप्तादिन लाग्थ्यो । त्यसबेलासम्म पढाई छुट्थ्यो । नियमित हुनै सकेन । त्यसैले पनि पढ्न सक्दिनँ भन्ने लाग्यो ।’
संगीताको यो अवस्था पछि उनकी बहिनी पनि अहिले स्कुल जान मन गर्दिनन् । किनकी उनिपनि सिकसेलकै बिरामी हुन् । ‘मैले पढ्न नसकेको देखेर बहिनी पनि आफुलाई रोगले च्याप्दै जाँदा पढ्न सक्दिनँ की भन्ने सोचेर मन लगाएर पढ्दिन । तरपनि सम्झाईरहेको छु ।’ संगीताले भनिन् ।
यस्तै, कक्षा दुईमा अध्ययनरत बिशाल चौधरी पनि सिकलसेल बिरामी हुन् । उनिपनि अहिल्यैदेखि विद्यालय नियमित हुन सकेका छैनन् । उनलाई प्रत्येक महिना नियमित रगत दिनुपर्छ । सुर्खेतस्थित प्रदेश अस्पतालमै रगत दिँदा एकैदिनमा भएपनि नेपालगञ्ज पुग्दा भने दुई तिन दिन पढाईमा असर पुग्ने गरेको उनका बुवा बजारु थारुले बताए ।