सुर्खेत। दशौँ राष्ट्रिय खेलकुदका लागि मूल आयोजक सचिवालय उद्घाटन गरिएको छ। आगामी जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशमा हुने प्रतियोगिताको लागि प्रदेश रंगशाला वीरेन्द्रनगर परिसरमा आईतबार सचिवालय उद्घाटन गरिएको हो। युवा तथा खेलकुद मन्त्री एबम् मूल आयोजक समिति संयोजक तेजुलाल चौधरी, मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी लगायतको सहभागितामा सचिवालय उद्घाटन गरिएको हो। मन्त्री चौधरीले अब कुनै पनि शर्तमा निर्धारित समयमा प्रतियोगिता सञ्चालन हुने बताए। पूर्वनिर्धारित समयमा प्राविधिक कारणले हुन नसकेको प्रस्ट्याए। कर्णाली प्रदेशको खेलकुदलाई साहसिलो कदमको रूपमा लगानी गर्दै रङ्गशाला लगायतका खेल पूर्वाधार निर्माण गरिएकोले प्रशंसा गरे। समयमा खेल प्रतियोगिता गर्न दिनानुदिन तयारी तिव्र हुने भएकोले सोही अनुरुप जनधारणा निर्माण गरिदिन आग्रह गरे। टेण्डर प्रकृया, समिति गठन, खरिद कार्यहरू लगायतका आवश्यक कार्यहरूमा काम भइरहेको जानकारी दिए। देखिने समस्याहरू समाधानका लागि विकल्पहरुको कम गर्न सकिने बताए। त्यसका लागि निर्धारित ७ दिन लाई बढाएर कम्तीमा १० दिनसम्म सञ्चालन गर्न सकिने विकल्प देखाए। मुख्यमन्त्री कँडेलले निर्धारित समयमा प्रतियोगिता सञ्चालन गर्न जिम्मेवार व्यक्तिहरू अलमल हुन नमिल्ने बताए। जेठको महिना खेलकुद प्रतियोगिताको लागि मौसम अनुकूल नहुनेमा आशंका उठिरहेको भन्दै खेलसम्बद्ध व्यक्तिहरूले सकारात्मक धारणा जोगाउनुपर्ने बताए। प्रतिकुलताका बीच अवसरलाई ग्रहण गर्नुपर्ने धारणा राखे। यो सामूहिक यात्रा भएकोले सबैले साथ सहयोग गर्नुपर्ने जिकिर गरे।खेलकुद प्रतियोगिता गर्ने मिति पटक पटक सर्ने हुँदा कर्णालीले प्रतियोगिताका लागि गरेको तयारी समेत प्रभावित हुने गरेको सामाजिक विकास मन्त्री भण्डारीले बताए। अब सचिवालय उद्घाटन सँगै निर्धारित समयमा सञ्चालन हुने विश्वास जागेको बताए। कर्णाली प्रदेशको राष्ट्रियस्तरको कार्यक्रममा सञ्चालन गर्न सक्छ भन्ने सन्देश जानेगरी सबैको सकारात्मक धारणा बनाउन आग्रह गरे।यो प्रतियोगिताले कर्णालीको खेलकुदको सम्भावना र खेलाडीको प्रतिभा पहिचान हुने अपेक्षा व्यक्त गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित शिर्षकहरु