उपचुनावको मुखमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सरुवा गरिएको विषयलाई लिएर नेपाली कांग्रेसका नेताहरुले चासो देखाएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले दैलेखको महावु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिदिएका छन् । यसले निर्वाचनको स्वच्छतामा प्रश्न उठाउन सक्ने उनको आशंका छ ।
महावु गाउँपालिकाको अध्यक्षका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । मनोनयन दर्ता मंसिर २ गते छ । तर, कात्तिक ३० गते सरुवाका लागि पत्र पुगेको भन्दै महामन्त्री थापाले नै प्रश्न उठाएका हुन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा कांग्रेसका महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले उपचुनावको मुखमा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएको विषय उठाए ।
शुरुमा कांग्रेसका महामन्त्री शर्माले यो विषय उठाएका थिए । समितिको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाका अनुसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ता उपस्थित भएका थिए ।
तर शर्माले प्रमुख प्रशासकीय अधिकृत सरुवाको विषय उठाउँदा निस्किसकेका थिए । ‘मन्त्रीजी जानुभयो । उपनिर्वाचन घोषणा भएको छ र उहाँको मन्त्रालयले उपनिर्वाचन हुने तहमै कार्यकारी प्रमुखहरू कतिपय ठाउँमा चलाएको छ’ शर्माले भने ।
महासचिव शर्माले नामै लिएर अगाडि थपे, ‘दैलेखको महावु गाउँपालिको प्रमुखका लागि उपनिर्वाचन हुँदैछ । त्यहाँ कार्यकारी प्रमुख चलाइएको छ ।’ यस्तो कार्यले निर्वाचनको स्वच्छतामा प्रश्न उठाउन सक्ने उनको आशंका छ ।
‘सरकारमा रहेका दलहरू वा सरकार बाहिर रहेका कुनै पनि दलहरूले निर्वाचनमा जाँदै गर्दा आपसमा सम्यम र स्वस्थ वातावरणको अनुभुति गर्नुपर्छ’ महामन्त्री शर्माले भने । यो विषयमा उनले सरकारको ध्यानाकर्षण गरे । महामन्त्री शर्माले भनेका छन्, ‘गृहमन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु । भएको तथ्य के हो ? संघीय मामिला मन्त्रालयले निर्वाचनमा जाँदै गर्दा कसैप्रति आग्रह पूर्वाग्रहको अवस्था बन्न नदिइकन यसमा गम्भीर बन्नुपर्छ ।’
राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रमेश लेखक उपस्थित थिए । महामन्त्री शर्माको जवाफ दिँदै गृहमन्त्री लेखकले आफूकहाँ समेत दैलेखको महावु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषय आएको बताए ।
‘दैलेखको महावु गाउँपालिको प्रमुख प्रशासकीय अधिकृतको कुरा आएको छ । यो कुरा म सँग पनि आएको थियो । मैले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीजीसँग मेरो कुरा भएको छ .. गृहमन्त्री लेखक बोल्दै थिए कांग्रेसका महामन्त्री गगन थापाले रोके ।
‘… मेरो पार्टीले अहिले राखेको विषयको सन्दर्भमा सरकारलाई हामीले आफ्नो तर्फबाट जानकारी गराउने कुरा हो । यो कुनै पार्टी विशेषको कुरा होइन । यो निर्वाचनको निश्पक्षतासँग जोडिएको छ भनेर जानकारी गरायौं’ महामन्त्री थापाले भने । उनले उपनिर्वाचनका लागि मनोनयन दर्ताको दिन नजिकिँदै गर्दा संघीय मामिला मन्त्रालयबाट प्रमुख प्रशासकिय अधिकृतको सरुवा पत्र पठाइएको बताए । महामन्त्री थापाले थपे, ‘आज (शुक्रबार) मात्रै त्यो पत्र गयो ।’
गृहमन्त्री लेखकले ‘मेरो थप ध्यान आकृष्ट भयो’ भने । संघीय मामिलामन्त्री गुप्तासँग आफ्नो कुरा भएको र फेरि कुरा गर्ने प्रतिवद्धता जनाए ।
‘म अहिले यही समितिबाट उठेपछि माननीय मन्त्रीजीसित कुरा गर्छु । निर्वाचनको निश्पक्षता, स्वतन्त्रतालाई सुनिश्चित गर्नेगरी मन्त्रीजीसँग कुरा गर्छु’ गृहमन्त्री लेखकले भने ।
नेताहरूका अनुसार गाउँपालिका अध्यक्षको उपनिर्वाचन हुने तयारी भईरहँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चलानी नम्वर नराखेरै प्रमुख प्रशासकिय अधिकृतको सरुवा पत्र पठाएको हो । पहिलो पत्र पठाएको केही दिनभित्र शुक्रबार फेरि पत्र पठाइएको छ ।
‘गाउँपालिकाको अध्यक्षको उपचुनाव हुँदैछ । त्यहाँ त्यही पालिकाको एउटा पार्टीप्रति नजिक रहेको अर्को प्रमुख प्रशासकीय अधिकृत लैजान खोजिँदैछ’ कांग्रेसका एक नेताले अनलाइनखबरसँग भने ।
उनका अनुसार गाउँपालिकामा कार्यरक्त प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायलाई दैलेखकै भैरवी गाउँपालिकामा सरुवा भएको भनेर विना चलानी नम्वर राखेर पत्र पठाईएको छ ।
यसअघि पनि महावु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसकेका भलाराम पंगालीलाई मन्त्रालयले कात्तिक १२ गते सरुवा पत्र पठाएपछि गाउँपालिकाका (कावा) अध्यक्ष मञ्जु शर्मा (पाण्डे) ले हाजिर गराउन नसक्ने ब्यहोराको पत्र कात्तिक १४ गते पठाएकी थिइन् । फेरि उनै भलाराम पंगालीलाई महावुमा सरुवा गर्ने प्रयास संघीय मामिला मन्त्रालयले गरेको छ ।
उपचुनाव नजिकिँदै गर्दा पंगालीलाई महावु गाउँपालिकामा नै किन सरुवा गर्न खोजिएको हो भनेर कांग्रेस नेताहरूले प्रश्न उठाएका हुन् ।
२०७९ को स्थानीय तहको चुनावमा यो पालिकामा कांग्रेसबाट लछुमन गुरुङ निर्वाचित भएका थिए । उनको २०७९ साल माघ २७ गते निधन भयो । त्यसपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो ।