कर्णाली । दसैँ र तिहार लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खोलेको सुपथ मूल्य पसलमा चामल किन्नेको भीड लागेको छ । वीरेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयमा बिहान १० बजेदेखि पाँच बजेसम्म सहुलियतमा खाद्यान्न किन्नेको भीड हुने गर्छ ।
वीरेन्द्रनगर, लेखबेंसी नगरपालिका, बराहताल गाउँपालिका लगायत क्षेत्रका मानिसहरु आउने गर्दछन् । असोज ६ गतेदेखि सुरु भएको सुपथ मूल्य पसलबाट दैनिक १ सय ५० क्विन्टल चामल विक्री हुने गरेको कार्यालयका लेखापाल पर्वत सापकोटाले बताए । बजारमा भन्दा सहुलियत दरमा दिएकाले निकै भीड हुने उनले बताए । १२ दिनमा १३ सय क्विन्टल चामल र १४ हजार लिटर तेल विक्री भएको छ ।
उनले भने, ‘बजानमा भन्दा हामीले एक क्विन्टलमा पाँचसय रुपैयाँ कम रुपैयाँमा बेचेका छौं, त्यसैले चामल किन्नेको लर्को लागेको छ ।’ खाद्यमा १४ सयदेखि २१ सय रुपैयाँसम्म चामल विक्री भइरहेको छ । कार्यालयका अनुसार एक व्यक्तिले तीन बोरासम्म चामल लिनसक्ने छन् । माघको दुई गतेसम्म सहुलियतमा पाइने छ । कार्यालय प्रमुख माधव मिश्रले ८ हजार क्विन्टल चामल स्टकमा रहेकले चामलको अभाव नरहेको बताए ।
कार्यालयमा स्टिम जिरा मसिनो चामल, अरुवा मोटा चामल, सोयाबिन तेल, तोरी तेल र डीडीसी घ्यू उपलब्ध रहेको छ । ‘दसैँ तिहारमा चामलको अभाव हुन्न, उनले भने, ‘आवश्यकता अनुसारको स्टकमा राखिएको छ । नयाँ टेन्डर पनि खुलिसकेको छ ।’ कार्यालयले सुपथ मूल्यमा दुई हजार तीन सय पर्ने स्टिम जिरा मसिनो चामललाई २१ सय ७५ रुपैयाँमा विक्री गरेको छ भने अरुवा मोटा चामलको १४सय ५० मूल्य राखेको छ ।