काठमाडौं । असोज ३ गतेदेखि सरकारले धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधान दिवस (असोज) को अवसर पारेर अस्थायी रूपमा धरहरा सर्वसाधारणका लागि खुला गर्ने र सञ्चालनको जिम्मा सहरी विकास मन्त्रालयलाई दिने तयारी गरेको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि २०७८ वैशाख ११ गते नै धरहराको उद्घाटन गरेका थिए। त्यतिबेला धरहराको स्तम्भ निर्माण गरिसकिएको भए पनि भूमिगत पार्किङ लगायतका संरचना भने बनाउन बाँकी नै थियो।
२०७२ वैशाख १२ गतेको भूकम्पले धरहरा भत्किएको थियो। भीमसेन स्तम्भको नामले समेत परिचित धरहराको भग्नावशेष अहिले निर्मित धरहराभन्दा पछाडि देख्न सकिन्छ । उक्त भग्नावशेषलाई सिसाले छोपेर सर्वसाधारणले देख्न सकिने गरी राख्ने सरकारको तयारी छ ।
यसअघि ९ तले रहेकामा अहिले धरहरा २२ तले छ। लिफ्टको प्रयोग गरेर माथि जान सकिने व्यवस्था मिलाइएको छ।
भूकम्पले भत्कनुअघि धरहरा काठमाडौं महानगरले सञ्चालन गर्दै आएको थियो। महानगरले साइडवार्कर्स नामको निजी कम्पनीलाई सञ्चालनको जिम्मा दिएको थियो।