वीरेन्द्रनगरको कुन्टी घर भएका प्रेमबहादुर चौधरी विदेश जाने सपना बोकेर कोरियन भाषा पढ्न काठमाण्डौं पुगे । डेराबाट पढ्न जाने तयारी गरिरहेका चौधरीका अचानक दुबै खुट्टा कक्रिएर (खुम्चिए) चल्न नसक्ने भए । प्रसव पीडाको चिच्चाहट् उनि अहिले पनि सम्झिन्छन् ।
सरकारी अस्पताल र काठमाण्डौंमा नाम चलेका अस्पतालहरुले उनलाई उपचार नगरिदिएको पीडा प्रेमको मनमा झन बढी गडेको छ । ‘मसँग उतिबेला नगद ३५ हजार रुपैँया थियो । ४० रुपैँयाको दुखाई कम गर्न सुई लगाईदेऊ भन्दा पनि लगाईदिएनन् । अग्रिम एक लाख डिपोजिट नगरे हामी उपचार गर्दैनौं भने ।’ प्रेमलले सुनाए, ‘सुर्खेतका चिनेका एक जनाले कुरा गर्दिएपछि पाँच हजार डिपोजिट राखेर त्यो सुई लगाएपछि दुखाई अलि कम भएको थियो ।’
उनको त्यो दुखाईको कारण थियो सिकलसेल एनिमिया । आँखा, हात खुट्टा लगायतका शरिरका भागहरु पहेँलो देखिएपछि उनले जण्डिसको उपचार गरिरहेका थिए । २०५३ सालदेखि जण्डिसको उपचार गरेका उनले २०७३ अर्थात २० वर्ष पछि सिकलसेल एनिमियाको कारण रहेछ भन्ने पत्ता लाग्यो । त्यसयता अहिलेसम्म पनि नियमित उपचारमै छन् । यो २० वर्ष उनका लागि निकै पीडादायी बन्यो । निरन्तरको उपचारपछि अलिकति सहज भएको उनको अनुभव छ । उपचारकै लागि सुर्खेतको वीरेन्द्रनगरमा रहेको आठ कट्ठा जमिन बेच्नुपरेको प्रेमले सुनाए ।
उनका परिवारका चारजनामध्ये २० वर्षिया छोरालाई पनि सिकलसेल पोजेटिभ देखिएको छ । उनि पनि अहिले नियमित उपचार गराई रहेका छन् ।