शारिरिक रुपमा हेर्दा तन्दुरुस्त उनिहरु काम गर्नका लागि सशक्त छैनन् । उनिहरु सजिलैसँग टाढासम्म हिड्न सक्दैनन् । ठूलो भारी उठाउन सक्दैनन् । जोरले काम गर्न सक्दैनन् ।
भौतिक काममात्रै होईन उनिहरुको मानसिक रुपमा पनि अरु सामान्य मानिसको जस्तो शसक्त काम गर्न सकिरहेका छैनन् ।
‘ठूलो भारी उठाउन अथवा जोरले काम गर्न सक्दैन । परिवारका अरु मान्छे गर्नुहुन्छ । म घर वरिपरिको सामान्य काम मात्रै गर्न सक्छु ।’ रामकृष्णले भने, ‘कतिबेला विरामी परिन्छ थाहै हुैदन । अचानक बिरामी हुँदा निकै कठिन हुन्छ ।’
रामकृष्णजस्तै संगीता पनि अशसक्त छिन् । उनि पनि घरबाट टाढा जान डराउछिन् । ‘म धेरै टाढासम्म जादैन । हिडडुलमा पनि अझ बढी समस्या छ । सिकलसेलकै कारण हड्डीमा असर पुगेपछि मेरो दायाँ खुट्टाको जोर्नीमा रड हालेको छ ।’ संगीताले भनिन् ।
चिकित्सकहरुका अनुसार बिरामीको रगतमा सिकलसेलको मात्रा ६० प्रतिशतभन्दा बढी पुगेपछि रोगले समातेको मानिन्छ । दीर्घ रक्तअल्पता हुने, ज्वरो आइरहने, छाती दुख्ने, जन्डीस हुने, फियो बढ्ने, हाडजोर्नी दुख्नेजस्ता यो रोगका मुख्य लक्षणहरू हुन् । सिकलसेलका बिरामीको शरीरमा हुने हँसिया आकारको रक्तकोषले रक्त सञ्चार प्रवाहमा असर पार्दछ । शरीरको विभिन्न भागहरुमा राम्रोसँग रगत प्रवाह हुन नसक्दा शरीरको भित्री अंगमा अक्सिजनको मात्रा कम भई ती अंगहरुमा कडा खालको दुखाइ हुन्छ ।
हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ । धेरै पीडा हुन्छ । साथै जण्डिस पनि देखा पर्छ । पेट दुख्छ । पित्त थैलीको पत्थरी, कलेजो सुन्निने, फियो सुन्निने जटिलता उत्पन्न हुन्छ । यसले आँखामा समेत असर पार्छ ।
जाडोयाममा प्रायः बालबालिकालाई निमोनिया हुने गर्छ । कतिपय बालबालिकामा सिकलसेल रोग पहिचान हुनु पूर्व नै निमोनियाबाट मर्ने गर्छन् । ५० प्रतिशत बालबालिका सिकलसेल पहिचान नहुँदै निमोनियाबाट मर्ने गर्छन् ।