सिकलसेलकै दुई जना भाई गुमाउनु परेको वीरेन्द्रनगरको कालीमाटी निवासी रामकृष्ण थारुले दुःखान्त सुनाए । त्यतिमात्रै भएन, दुई छोरी, नातिनी र उनी आफै समेत सिकलसेलसँग लडिरहेका छन् ।
रामकृष्ण ५८ वर्ष पुगे । उनका एउटा भाई १७ वर्षमै बिते । अर्का भाई प्रेम चौधरी भने ६ वर्षअघि बितेका हुन् । जण्डिस जस्तो देखिएपछि उनले त्यसको उपचार गरिरहे । तर, निको भएन । २०५० सालमा काठमाण्डौंको विर अस्पतालमा १२ लाख रुपैँया तिरेर उपचार गरे तरपनि उपचार हुने सकेन ।
त्यतिबेला वीरेन्द्रनगरको चार कट्ठा जमिन बेचेर भाईको उपचार खर्च जुटाएको रामकृष्णले सुनाए ।
‘त्यति धेरै रुपैँया खर्च भईसकेपछि थाहा भयो भाईलाई सिकलसेल भएको रहेछ । अनि नेपालगञ्ज भेरी अस्पतालमा ल्याएर उपचार गरियो ।’ रामकृष्णले भने, ‘तरपनि भाई धेरै उमेर बाँच्न सकेन । प्रेमको उपचार पछि थाहा भयो अगाडी बितेको भाई पनि सिकलसेलकै कारण बितेको रहेछ ।’