संगीता चौधरी २६ वर्षको भईन् । उनि सिकलसेल एनिमियाको बिरामी हुन् । वीरेन्द्रनगर नगरपालिका–२ प्रगतिशिल टोलमा उनको घर छ । शारिरिक बनोटमा उनि कमजोर देखिन्नन् तर, उनि चाहेको काम गर्न तन्दुरुस्त छैनन् ।
उनले विगत ८ वर्षदेखि सिकलसेलको नियमित औषधी सेवन गरिरहेकी छन् । माध्यामिक शिक्षा पढ्दै गरेकी संगीताले आफु बिरामी पर्न थालेपछि स्कुल छोडिन् । ‘१६–१७ वर्षकै उमेरमा एसएसलसी दिएपछि थप पढ्न सकिनँ । स्कुल पनि नजिक भएन । एक्लै जान नसक्ने भएपछि स्कुल छोडेँ ।’ संगीता भन्छिन्, ‘अनि, उपचारको लागि प्रत्येक महिना नेपालगञ्ज जानुपर्ने त्यसैले स्कुल छुटेको छुट्यै हुन लागेपछि जान सकिनँ ।’
उनि अहिले धेरै टाढासम्म हिड्न सक्दिनन् । कुनै गह्रङ्गो भारी उचाल्न सक्दिनन् । टाउको दुख्ने । पेट दुख्ने । आँखा पोल्ने जस्ता समस्या भोगिरहेकी छन् । खुट्टामा तीन वटा फलामे रड राखेकी छन् । सिकलसेलकै कारण उनको बाँया खुट्टाको हड्डी खिईएपछि अहिले अप्रेसन गरी रड राखिएको उनले सुनाईन् ।
संगीताको पारिवारिक आयस्रोत कमजोर छ । परिवारमा बुवा, आमा, दिदी, भिनाजु र उनकी बहिनी छन् । उनकी बहिनी पनि सिकलसेलकै बिरामी हुन् । उनिहरु दुई बहिनी बाहेक परिवारका सबै खेती किसानी गर्छन् । संगीता आयस्रोत जुटाउन घरमै बसेर आर्जनको काम गर्न चाहन्छिन् । तर, भनेजस्तो हुनसकेको छैन ।
आत्मनिर्भरका लागि आईएनएफ सुर्खेतको सहयोगमा उनले सिलाई कटाई तालिम लिएकी छन् । तर, व्यावसायिक हुन सकेको छैन । ‘बजार क्षेत्रमा टेर्लर (कपडा सिलाई–कटाई पसल) गरेको भए त हुन्थ्यो की । यहाँ त्यस्तो काम आउदैन । बजारमा ठाउँ लिनलाई आफुसँग आर्थिक पनि छैन ।’ संगीताले भनिन्, ‘सीप सिकेर मात्र के गर्नु । आत्मनिर्भर हुन पनि त कठिन रहेछ !’
संगीताको पढाई छोड्नुपरेको बाध्यताका कारण उनकी बहिनी पनि पढाईमा जाँगर छैन । उनी यहि वर्ष माध्यामिक शिक्षा परिक्षा (एसईई) दिदैछिन् । ‘बहिनीले पनि पढाईमा ईच्छा देखाउन सकेको छैन । मेरो जस्तो अवस्था हुँदा पढाइै छुट्ने नै त हो भन्ने छ ।’ संगीताले भनिन्, ‘तरपनि सक्नेजति पढ भनेकी छुँ ।’