सुर्खेत । सुर्खेतमा सञ्चालन हुने लागेको ‘तेस्रो कर्णाली एक्स्पो’ सञ्चालन नगरी यथास्थितिमा राख्न उच्च अदालत सुर्खेतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । बालमैत्री वातावरणमा शिक्षा पाउने बालबालिकाको संवैधानिक तथा कानूनी अधिकारलाई ध्यानमा राखी महोत्सव कार्य रोक्न अन्तरिम आदेश दिइएको हो ।
महोत्सव फागुन १४ गतेदेखि सुरु हुने भनिएको थियो ।
महोत्सव सञ्चालन स्थल र बालमन्दिर प्राथमिक विद्यालय नजिकै छन् । उक्त विद्यालयको चैत्र १ गतेदेखि वार्षिक परिक्षा हुने भनिएको छ । महोत्सव गतिविधिले परिक्षाको मुखैमा बालबालिकाको पढाईलाई गम्भिर असर पुग्नेभएकोले यसलाई रोक्न अदालतमा रिट निवेदन दायर भएको थियो ।
अधिवक्ता प्रकाशबाबु ऐडीको निवेदनमा वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर, गीता कुमारी कोइराला र दुर्गाप्रसाद सापकोटाले बहस गरेका थिए । शुक्रबार भएको बहसमा न्यायधीश माधवप्रसाद धितालको इजलासले महोत्सव कार्य रोक्न अन्तरिम आदेश जारी गरिदिएको हो ।
याे पनिः कोलाहलमा पढिरहेका विद्यार्थी
आदेशमा दुवै पक्षको भनाई सुनी निष्कर्षमा पुग्न उचित हुने भन्दै फागुन १४ गतेका लागि पेसी तारेख तोकिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, सुर्खेत उपत्यका नगर विकास समिति र उद्योग वाणिज्य संघ सुर्खेतलाई विपक्षी बनाई अन्तरिम आदेशसहितको निषेधाज्ञा माग गरिएको छ ।
रिटमा मेला संचालनका लागि वीरेन्द्रनगरकै खुला मञ्च, जिल्ला प्रशासन कार्यालयको दक्षिण तर्फको खुल्ला मैदान, कालुन्चोकमा रहेको खेल मैदान, बुलबुले उद्यान लगायतका स्थानहरूको विकल्प समेत दिइएको छ ।
बाल मन्दिर विद्यालयमा कक्षा एकदेखि पाँचसम्म अध्ययन गर्ने १ सय १० जना बालबालिका रहेका छन् ।
विगतका वर्षहरुदेखि नै सोही क्षेत्रमा महोत्सव सञ्चालन हुँदै आएका छन् । २०७९ माघमा आयोजना गरिएको महोत्सवले विद्यालयमा पु¥याएको प्रभावका बारेमा शिलापेपरले समाचार प्रकाशन गरेको थियो ।