काठमाडाैं। चालु आर्थिक वर्षको सात महिनामा नेपालको समग्र व्यापार २.५४ प्रतिशतले घटेको छ । यो अवधिमा आयात २.३१ प्रतिशतले घट्दा निर्यात भने ७.०७ प्रतिशतले घटेको छ । हरेक वर्ष १५ देखि २० प्रतिशतसम्मले बढेको व्यापार गत आर्थिक वर्षदेखि घट्दो क्रममा छ ।
गत वर्ष सात महिनामा २२ अर्ब ४४ करोड रूपैयाँले निर्यात भएको वनस्पति तेलमा अहिले ८१ प्रतिशतले गिरावट आएको छ ।
अन्तर्राष्ट्रिय व्यापारको लागि विभिन्न वस्तुलाई ९६ भागमा विभाजन गरिएकोमा २५ वटा भागमा विभाजन गरिएका वस्तुको आयात निकै घटेको छ । तर, निर्यात उल्लेखनीय बढेको छ ।
गत वर्षको सात महिनाको तथ्यांकसँग यो वर्षको सात महिनाको तथ्यांक हेर्दा यी २५ भागमा केन्द्रित वस्तुहरूको निर्यात ६७ प्रतिशत अर्थात् १३ अर्ब ३१ करोड ४५ लाख रूपैयाँले बढेको छ । गत वर्ष २० अर्ब ९८ करोड ९७ लाख रूपैयाँको यस्ता वस्तुको निर्यात थियो । यो वर्ष भने ३४ अर्ब २९ करोड ८३ लाख रूपैयाँको निर्यात छ ।
यी नै वस्तुको आयात भने ३१ अर्ब १३ करोड ६ लाख रूपैयाँले घटेको छ । यो अवधिमा गत वर्ष यस्ता वस्तुको आयात चार खर्ब ६३ अर्ब ८६ करोड ३४ लाख रूपैयाँको भएको थियो । यो वर्ष भने चार खर्ब ३२ अर्ब ७३ करोड २८ लाख रूपैयाँको भएको छ ।