काठमाडौं । आगामी वर्षका लागि संघीय सरकारले विनियोजन गर्ने बजेटको सिलिङ (सीमा) तोकिएको छ । राष्ट्रिय योजना आयोगले १८ खर्बको सिलिङ तोकेको हो । आयोगका उपाध्यक्षको संयोजकत्वमा हुने स्रोत अनुमान समितिले अनुमानित उपलब्ध हुन सक्ने स्रोतका आधारमा बजेट सिलिङ निर्धारण गरेको हो ।
सरकारले चालु वर्षमा १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको थियो । तर, मध्यावधि मूल्यांकन गर्दै खर्च हुन सक्ने बजेट भने १५ खर्ब ३० अर्ब आकलन गरिएको छ ।
चालु वर्षमा पनि राजस्वको परिचालन सुस्त देखिएको, वैदेशिक सहायता अपेक्षित आउन नसकेको अवस्थामा बजेटको आकार चालु वर्षको तुलनामा करिब ५० अर्ब मात्रै बढाउन भनिएको छ ।