दैलेख (महाबु) । महाबु गाउँपालिकामा अन्तरपालिका स्तरिय कर्मचारी खेलकुद कार्यक्रम सुरु भएको छ । बिहीबार राउटे बजार खेलकुद मैदानमा महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मा पाण्डेद्वारा खेलकुद कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो ।
दैलेख जिल्लास्थित पालिकामा कार्यरत कर्मचारीहरु बीच हुने प्रतिस्पर्धात्मक खेलमा जिल्लाका सबै स्थानिय तहबाट प्रतिनिधित्व रहेको छ ।
महाबु कर्मचारी मिलन केन्द्रद्वारा आयोजित सो कार्यक्रममा विशेष अतिथि महाबु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्याय, ठाटिकाँध गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिृकत नेत्र बहादुर थापा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता महाबु कर्मचारी मिलन केन्द्रका संयोजक अनिल कुमार पाण्डेले गरेका थिए ।
फागुन १९ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा क्रिकेट, व्याटमिन्टन, स्लोबाइक रेस, घैटोफोड लगायतका खेलहरु समावेश हुनेछन् ।
उद्घाटन खेलमा क्रिकेटतर्फ महाबु गाउँपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिका बिच खेल भएको छ । सो खेलमा महाबु गाउँपालिकाले ४४ रनले जित हासिल गरेको छ । महाबुले १२ ओभरमा ७७ रनको टार्गेट दिएको थियो । चामुण्डा ३६ रनमा अल आउट भयो । सो खेलमा महाबुका योगेन्द्र रावल सर्वाधिक ३७ रन बनाएका थिए भने कुमार परियार र मोतिराम मगर ३/३ विकेट लिएका थिए ।
यस्तै, भगवतीमाई गाउँपालिका र ठाटिकाँध गाउँपालिकाबिच भएको दोस्रो खेलमा भगवतीमाईले जितेको छ । ठाटिकाध गाउपालिकाले दिएको ७३ रनको लक्ष्य भगवतीमाइले ९.२ बलमा पूरा गरेको थियो । यो खेलमा भगवतीमाई गाउपालिका ९ विकेट ले विजयी हुन पुग्यो ।
अब शुक्रबार बिहान व्याटमिन्टन खेल हुनेछ । पहिलो खेल महाबु भर्सेस दुल्लू नगरपालिकाको हुनेछ ।
यस्तै, क्रिकेटमा नौमूले गाउँपालिका भर्सेस दुल्लू नगरपालिका र भैरबी गाउँपालिका भर्सेस आठबीस नगरपालिका बीच प्रतिस्पर्धा हुनेछ ।