सुर्खेत । समयमा विद्युत महसुल नतिरेपछि वीरेन्द्रनगरस्थित सिटी बसपार्कको विद्युत लाईन काटिएको छ । चार दिन अगाडीदेखि लाईन कटौती हुँदा पनि नगरपालिकाले अझै सुचारु गर्ने तरखर गरिएको छैन । अझ भनौं पहिलो पटक काटिएको लाईनलाई कानूनी प्रक्रिया विपरित जोडिएपछि पुनः दोस्रो पटक लाईन काटिएको छ ।
सिटी बसपर्क वीरेन्द्रनगर नगरपालिका कार्यालयको संरक्षणमा छ । यसलाई सञ्चालन गर्ने जिम्मेवार निकाय पनि नगरपालिका आफै हो । समय विद्युत महसुल नतिर्दा विद्युत कटौती हुने अवस्थामा पुगेको देखिन्छ ।
विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका अनुसार बसपार्कमा जडित विद्युतको एक लाख ७० हजार बक्यौता रकम तिर्न बाँकी छ । उक्त रकम नतिरेपछि चार दिन अगाडीदेखि लाईन पोलबाटै काटिएको वितरण केन्द्रका प्रमुख अशोक लोहनीले जानकारी दिए ।
याे पनिः कार्यकर्ता पोस्दा वीरेन्द्रनगरको आम्दानी जुटाउनमा कमजोर भूमिका
उनका अनुसार पहिलो पटक काटिएको लाईनलाई आफुखुशी जोडेपछि पुनः पोलबाटै लाईन काटिएको छ । जुन, कानून विपरित थियो । कानूनी प्रावधान अनुसार बक्यौता रकम तिरेपछि विद्युत प्राधिकरणकै कर्मचारीद्वारा लाईन जडान हुनुपर्ने थियो ।
विद्युत महसुल नतिरेको कुरामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले सटर भाडाको कुरा नमिल्दा समयमा महसुल तिर्न नसकेको बताए ।
एघार सय बढी विद्युत लाईन काटियो
सुर्खेतमा चालु आर्थिक वर्ष सुरु भएयता एक हजार एक सयभन्दा बढी विद्युत लाईन काटिएको वितरण केन्द्रका प्रमुख लोहनीले जानकारी दिए । समयमा महसुल नतिरी बक्यौता रहेका उनिहरुको लाईन काटिएको थियो । उनिहरुको तीन करोड बढी रुपैँया महसुल तिर्नुपर्ने थियो ।
लाईन कटौती भएका मध्ये ८ सयले महसुल तिरेपछि पुनः लाईन जडान गरिदिएको प्रमुख लोहनीले बताए ।