कर्णाली। रारा तालमा वर्षेनी विदेशी चराहरु आउने गर्दछन् । त्यसरी आउनेमध्ये यसवर्ष ३९२ वटा साइबेरियन चरा आईसकेका छन् ।
रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत राजु घिमिरेका अनुसार रारा आउने चराहरु युरोप, साइबेरिया, तिब्बत र भारतलगायतका देशहरुबाट छन् । हाल साइबेरिया, युरोप, मंगोलिया र मानसरोवरबाट पाँच प्रजातिका चरा मौसमी बसाइँसराइ गरी आएका हुन् ।
चरा गणनाको लागि निकुञ्जमा रहेका नेपाली सेना सहितको २४ जनाको टोली खटिएको थियो । टोलीले चराहरुलाई ‘ए’ देखि ‘डी’ ग्रुपमा विभाजन गरी गणना गरेको थियो ।
गणनाको विवरणनुसार मरुल १७८ वटा, कालीजुरे हाँस ८१ वटा, हरियो टाउके हाँस १ वटा, खोया हाँस ३ वटा, सुनजुरे हाँस ११७ वटा र सिउरे डुबुल्की चरा १२ वटा गरी जम्मा ३ सय ९२ वटा साइबेरियन चरा रारातालमा पुगेका हुन् ।
साइबेरियामा नेपालका हिमाली जिल्लाभन्दा अत्यधिक चिसो हुने भएपछि प्राय हिउँदमा विभिन्न प्रजातीका चरा रारा आउने गरेका छन्। विगतका तुलनामा यो वर्ष धेरै संख्यामा चरा आएका हुन्। सन् २०१२ मा पहिलोपटक रारा तालमा वरपर २७२ प्रजातिका चराहरू रहेको रेकर्डमा उल्लेख छ। जसमा ४९ प्रजातिका जल पन्छीहरू छन्।
रारामा मंसिर दोस्रो साताभित्रै पंखथोप्ले तितु, कालो कन्ठे, चाचर नामका नयाँ प्रजातिका चरा देखिएका छन्। कमकुट, वाटरफल्ब, लिटिलक्रिट, टपटेक, ग्रिट, म्यासेन्जर, खोयाहाँस, कैलोटाउके हाँस, चखेवा–चखेवी, क¥याङकुरुङ मरुललगायत विदेशी चराहरु जाडो छल्न रारा आउने गरेका छन्।
पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चराहरु रारा आउने गरेका हुन्।