काठमाण्डौं। रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरकाे बालकुमारीमा सुरू भएकाे आन्दाेलन उग्र भएकाे छ। प्रहरी र आन्दाेलनकारीबीच झडप हुँदा एक युवककाे मृत्यु समेत भएकाे छ भने आन्दाेलनकारीले मन्त्री सवार गाडी जलाएका छन्।
ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार दैलेखको महाबु गाउँपालिका ६ रानीवनका सुजन रावतको ज्यान गएको हाे। उनको उपचारका किस्ट अस्पतालमा ज्यान गएको बताइएकाे छ।
युवाहरुको भिड अनियन्त्रित भएको र वरपरका पसल तथा गाडीमा अन्धाधुन्ध आक्रमण गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियाे।
झडपमा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन् ।
५४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले लाठीचार्ज र अश्रुग्यास हानेर युवालाई तितर बितर पारेको थियाे।
आन्दोलन गरेका युवाहरुले आजै मन्त्रीको गाडी जलाएका छन् । युवाहरुको आन्दोलन चलिरहेको बेला पार्टी कार्यालय जान हिँडेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकास ज्वालाको गाडीमा विद्यार्थीले आगजनी गरेका हुन । मन्त्री र २ जना सुरक्षाकर्मीलाई गाडीबाट निकालेर उनीहरुले गाडीमा आगो लगाएका प्रहरीले जनाएको छ ।
पानी जहाज बनाउने काम अर्थात ‘सिप बिल्डिङ’का लागि परीक्षा फारम भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने निर्णयविरुद्ध युवाले आन्दोलन गरेकाे बताइएकाे छ।