सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा केही समय सहुलियत दरमा यात्रा गर्न पाएका यात्रुहरु अहिले चर्को भाडा तिर्न बाध्य छन् । संयुक्त यातायात व्यावसायीहरुले सुरु गरेको नगरबस सञ्चालन पछि वीरेन्द्रनगरका यात्रुलाई सहज भएको थियो । अहिले पुनः अटो रिक्साको मनपरी भाडा तिर्नुपर्ने बाध्यता आइलागेको छ ।
‘नगर बस हुँदा धुलियाबिटदेखि २० रुपिँयामा प्रदेश अस्पताल पुग्थेँ ।’ स्थानीय जुनकला सिंहले भनिन्, ‘अहिले अटोमा जाँदा कम्तिमा तीन सय रुपिँया तिर्नुपर्छ । त्यही पनि मनपरी छ । कहिले कम कहिले बढी तिर्नुपर्छ ।’ उहाँ हप्तादिनमा प्रदेश अस्पताल पुग्ने गर्नुहुन्छ ।
यस्तै, नगरबसमै दैनिक जसो यात्रा गरिरहेका बांगेसिमलका नवराज खड्काले पनि उस्तै गुनासो सुनाए । ‘नगर बसमा जतिपटक आउने जाने गर्दा पनि कम खर्चिलो थियो । ट्युसन पढ्न जाँदा बसमै जाने गर्थे । अहिले निकै महङ्गो भाडा तिर्नुपर्छ । त्यसैले हिडेरै पुग्छु ।’ खड्काले भने ।
गत असार १ गते देखि वीरेन्द्रनगरमा नगरबस सञ्चालनमा आएको थियो । दशैंको केही समय अगाडी देखि नगरबस बन्द छ । वीरेन्द्रनगरस्थित संयुक्त यातायात व्यावसायीहरुले नगरबस सञ्चालनमा ल्याएका थिए । वीरेन्द्रनगर नगरपालिकाले नगर बस सञ्चालन गर्ने योजना ल्याएपनि त्यसलाई सहयोग पुग्नेगरी नीजि क्षेत्रले साझेदार गरेको थियो । तर, बन्द हुने अवस्थामा भने नगरपालिकाले सहयोग नगरेको उनिहरुको गुनासो छ ।
वीरेन्द्रनगरको धुलियाविट–मङ्गलगढी–मूलपानी–प्रदेश अस्पताल–कुमाइचोक भएर हिलेखाली चोकबाट बाङ्गेसिमल हुँदै पुिनः सोही रुट भएर नगर बस सञ्चालनमा थियो । उक्त रुटमा एक पटक चढे–झरेको २० रुपिँया थियो । केही महिना पछि संशोधन भई ३० रुपिँया भाडादर तोकिएको थियो ।
तत्कालीन समयमा व्यावसायीहरु डिजेलको मूल्य अनुसारको भाडादर तोकिएको थियो । अहिले डिजेलको मूल्य बढेसँगै नगरबस सञ्चालनमा घाटा भएपछि व्यावसायीहरुले सेवा बन्द गर्नुपरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कर्णाली प्रदेशका संयोजक रमेश कुमार सापकोटाले जानकारी दिए । उनका अनुसार तत्कालीन समयमा १४६ रुपिँया प्रतिलिटर डिजेलको मूल्य बढेर १६२ पुगेपछि सेवा बन्द भएको थियो ।
‘भाडादर २० रुपिँयाबाट बढेर ३० पुगेपछि अटो व्यवसायीले पनि ३० रुपिँयामै यात्रु बोक्न थाले । अटो छरितो हुने विश्वासमा नगरबसका लागि यात्रु कम हुन थाले ।’ सापकोटाले भने, ‘यात्रु कम भएपछि हामीले बस सेवा बन्द ग¥यौं । अहिले अटोले पुरानै दरमा यात्रु बोकिरहेको छन् । जसले यात्रु महङ्गो मारमा छन् ।’
सापकोटाले सरकारी निकायबाट साझेदारीको कुरा हुन नसकेको गुनासो व्यक्त गरे । नगरपालिकाले अपनत्व लिनेगरी केही साझेदारीको प्रस्ताव हुन सकेको अवस्थामा नगरबस सञ्चालन गर्न अप्ठ्यारो नभएको उनको बुझाई छ ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले भने यातायात व्यवसायीका तर्फबाट नगरबस बन्द हुनुको जानकारी आफु समक्ष आइनपुगेको बताईन् ।
‘नगरबस सञ्चालन गर्ने हाम्रो योजनामै भएपनि नीजि क्षेत्रको सहयोग ठानेका थियौं ।’ नगरप्रमुख ढकालले भनिन्, ‘हामी पनि निजी क्षेत्रलाई प्रोमोट होस् भन्ने चाहेर सञ्चालनमा आएको प्रति हर्षित थियौं । अब जानकारी आएपछि छलफल गरेर अगाडी बढ्छौं ।’