काठमाडौँ । सरकारले राष्ट्रिय शिक्षा दिवसको अवसरमा ९६३ जनालाई विभूषित गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत व्यक्तिहरुको नामावली सार्वजनिक गरेको हो ।
यसपटक ९०५ जनाले नेपाल विद्याभूषण पाउने भएका छन् । जसमध्ये ७९० जनालाई नेपाल विद्याभूषण ‘क’, ७१ जनालाई ‘ख’ र ४४ जनालाई ‘ग’ प्रदान गरिने मन्त्रालयले जनाएको छ । त्यस्तै, ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिने भएको छ, जसमा नेपाल छात्रा विद्यापदक क २८ जनलाई र ख १८ जनालाई प्रदान गरिनेछ । यसैगरी ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने मन्त्रालयले जनाएको छ । त्यस्तै, विभिन्न विधामा ११ जनालाई राष्ट्रिय विज्ञान तथा प्रविधि नवप्रवर्तन पुरस्कार प्रदान गरिँदै छ ।
सरकारले यही वर्षदेखि अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको थियो । त्यही अनुसार मंगलबार देशभर शिक्षा दिवस मनाइँदै छ ।