सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वडादेखि सिंहदरबारसम्म भ्रष्टाचार मौलाएको टिप्पणी गरेका छन् । समाजवादी मोर्चा नेपालले विहिबार सुर्खेतमा आयोजना गरेको सन्देश सभामा बोल्दै उनले नक्कली बाख्राको खोर देखाएर भ्रष्टाचार गर्ने कम्युनिष्टहरु भएको दाबी गर्दै उनले भने ‘मैले मेरै गाउँमा देखेको छु । म अहिले पनि गाउँमै बस्छु ।’
सरकार, सडक र सदन ठिक ढङ्गले चल्नुपर्ने उनले बताए । यो संसदीय व्यवस्था रहेसम्म मुलुकको विकास नहुने उनको टिप्पणी थियो । अब संसदीय व्यवस्था त्याग्दै वैज्ञानिक समाजवादको दिशा तय गर्नुपर्ने उनको भनाई छ ।
नेपाललाई यहाँसम्म पु¥याउने माओवादी हो । नेपाली जनताको त्याग र नेताहरूको योग्दानले मुलुक परिवर्तन भएको छ,’ उनले भने, ‘मोर्चाभित्रका दलका आफ्नै उद्देश्य छन्, तर विश्व राजनीतिक ध्रुवीकरणले नेपालमा प्रभाव पार्दैछ । यसले देशमा जटिल परिस्थिति निम्त्याएको छ ।’
प्रतिगामी र पश्चगामी तत्त्वहरूले नेपाली जनतामा भ्रम फिँजाइरहेको उनले बताए । यही परिस्थितिलाई ध्यानमा राख्दै सुसंगठित मोर्चा आवश्यक ठानेर समाजवादी मोर्चा बनाएको विप्लवको भनाइ छ ।
‘हामी जनयुद्धको बेलाको सफल संरचनालाई देशको संरचनामा बदल्न चाहन्थ्यौं । तर अहिलेको संरचना जनयुद्धको बेलाजस्तो सफल देखिएन,’ उनले भने ।