सुर्खेत । कर्णाली प्रदेशका मुख्य दुई ओटा कोरिडोर निर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानकर्षण गराइएको छ । सोमबार प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले प्रधानमन्त्रीको ध्यान केन्द्रीत गराएको हुन् ।
कर्णालीमा मुख्यतः कर्णाली र भेरी कोरिडोर निर्माण पश्चात कर्णाली समृद्धि मार्गका रुपमा स्थापित हुने विश्वास गरिन्छ । त्यसका लागि संघीय सरकारले कोरिडोरलाई प्राथमिकतामा नराख्दा यहाँको विकास हुन नसकेको उनिहरुको बुझाई छ ।
विशेषतः पूर्व मुख्यमन्त्री एवम् वर्तमान नेपाली काङ्ग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता यामलाल कँडेलले संघीय सरकारको प्राथमिकतामा राखेर कोरिडोर निर्माण गरिदिन आग्रह गरे ।
राष्ट्रिय सडक सञ्जाल नजोडिएका जिल्लाहरुमा हवाई उडानलाई समेत व्यवस्थित गराईदिन माग गरे ।
यस्तै, प्रधानमन्त्री दाहालले कोरिडोरका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए । उनले आगामी दिनमा कर्णालीलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने आश्वासन दिए ।
दाहालको यसपटक हुने चीन भ्रमण कर्णाली कोरिडोरका विषयमा सार्थक हुने जानकारी दिए । ‘माननीय ज्यूहरुले राख्नुभएको कुरामा ध्यान केन्द्रीत भएको छ ।’ उनले भने, ‘ कर्णाली कोरिडोरको विषय यसपटक हुने चीन भ्रमणले सार्थकता पाउने विश्वास लिएको छु ।’