सुर्खेत । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण सम्बन्धी आफु प्रधानमन्त्री हुँदा लागत बमोजिम जग्गा नाममा गरिदिने निर्णय भएको बताएका छन् । शनिबार सुर्खेतस्थित पत्रकारहरुसँगको भेटमा उनले आफ्ना पालाको मन्त्रिपरिषदले मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको बताए ।
२०६९ असोज १८ गते पशुपति टिकिन्छा गुठीका नाममा जग्गा कायम गर्ने निर्णय भएको थियो । ३ रोपनी १२ आनामा कतै अस्तित्वमा नदेखिएको टिकिन्छा गुठी कायम गरी अनधिकृत रूपमा मोही कायम गर्ने निर्णय डा. भट्टराईको पालामा भएको थियो । त्यसपश्चात यो जग्गा गुठीको कायम गरी मोही सिर्जना गरेर व्यक्तिको नाम गरिएको थियो । ३ रोपनी १२ आना भनिएको यो जग्गा ४ रोपनी १४ आना भएको सीआईबीले जनाएको छ ।
‘गल्तीवस नाममा आएकोले सच्याईनुपर्छ भन्ने प्रस्ताव मन्त्रालयले ल्याएको थियो । मन्त्रालयले ल्याएको प्रस्तावका सबै कुरा प्रधानमन्त्रीलाई थाहा हुने कुरा भएन ।’ डा. भट्टराईले भने, ‘नियतबस व्यक्तिगत लाभको निम्ति गरेको छैन । मन्त्रिपरिषदले गरेको निर्णय हो । छानविन गरौं । यसलाई सघाउन तयार छु ।’
साथै, गत साउन २१ गते जग्गा व्यक्तिका नाममा लैजान भएका निर्णयमा संलग्न तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसमेत अनुसन्धानको दायरामा ल्याई अविलम्ब अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।