सुर्खेत । दैलेखको साङ्गेतडा–विन्द्रासैनी सडक निर्माणका लागि यही साउन २० गतेभित्र ठेक्का (टेण्डर) आव्हान हुने भएको छ । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मंगलबहादुर शाहीले मंगलबार संसद बैठकलाई आगामी १८ देखि २० गतेभित्र ठेक्का आव्हान भैसक्ने जानकारी गराए ।
दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि स्तरीय सडक निर्माण गर्न केन्द्रीय सरकारले उक्त सडक प्रदेश सरकारलाई जिम्मा लगाएको थियो । साङ्गेतडादेखि विन्द्रासैनी–चामुण्डा हुँदै मध्यपहाडी लोकमार्गसम्म सडक स्तरीय बनाउनुपर्ने छ । करिब सात किलोमिटर सडक निर्माणका लागि ६ करोड ७२ लाख लागत अनुमान गरिएको छ । तथापी आर्थिक वर्ष २०८०-८१ का लागि तीन करोड मात्रै बजेट विनियोजन गरिएको थियो । सोही रकम अनुसार टेण्डर आव्हान हुने मन्त्री शाहीले जानकारी दिए ।
यसअघि प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीले प्रदेश सभाको दोस्रो अधिवेशनको २७ औं बैठकमा समयमै उक्त सडक निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । उनले गत आर्थिक वर्षहरुमा विनियोजित बजेट खर्च नभई फ्रिज गएकोप्रति आपत्ति जनाउँदै उपकरण ढुवानीका लागि समयमै सडक निर्माण गर्न माग गरेका थिए । उक्त मागको जवाफ दिँदै मन्त्री शाहीले टेण्डर आव्हानको प्रक्रिया अघि बढेको बताएका हुन् ।
यद्यपी नेपाल सरकारले २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण गर्न चीनलाई दिने सम्बन्धी परियोजना स्वीकृत गरेको थियो । तीन वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने उक्त परियोजना कोभिड–१९ का कारण काम प्रभावित बन्यो । तत्पश्चात २०७८ चैत्र १४ को मन्त्रिपरिषद बैठकबाट २०८० को चैत मसान्तमा काम सम्पन्न गर्नेगरी म्याद थप गरिएको छ । समयमा सडक निर्माण नहुँदा अन्वेषण कार्य प्रभावित हुने देखिएको छ ।
सम्बन्धित समाचारः