दासले लेखेका पुस्तकमा यसअघिका संस्करणमा पनि महिलामाथि अपमान हुने उही शब्दावली राखिएको भेटिएको छ ।
सुर्खेत । लोक सेवा आयोग, वन सेवासँग सम्बन्धित एउटा पुस्तक अहिले विवादित बनेको छ । पुस्तकको प्रश्नोउत्तरमा महिलालाई अपमान हुने शब्दावली प्रयोग गरेपछि विरोध भइरहेको हो । यतिबेला उक्त विषयबारे सामाजिक सञ्जालदेखि अधिकारका क्षेत्रमा कार्यरत संघ–संस्था हुँदै प्रतिनिधि सभामा समेत ध्यानाकर्षण गराइएको छ ।
श्री राम एकवाल दासले विद्या विकास प्रकाशन प्रा. लि. बाट प्रकाशित गरेको ‘नेपाल वन सेवा दिग्दर्शन गेमस्काउट वन रक्षक सफलताको साथी’ नामक पुस्तकमा जङ्गली जनावर भालुका सम्बन्धमा राखेको प्रश्नमा महिलालाई जोडेर असामान्य शब्दावली प्रयोग गरेका छन् । उनले सोही पुस्तकको यसअघिका संस्करणमा पनि यही प्रश्न राख्दै आएको पाइएको छ ।
हाल विद्या विकास पब्लिकेसन प्रा. लि. बाट प्रकाशित पुस्तकको प्रश्न विवादित बन्याे। तर, लेखक दासले लेखेका यसअघिका संस्करणहरूमा पनि विवादित प्रश्नाेत्तर नै भेटिएकाे छ।दासले गुरू पब्लिकेशनबाट २०७४ मा प्रकाशन गरेकाे पुस्तकमा पनि त्यही प्रश्न छ। २०६८ देखि २०७४ सम्म तेस्राे संस्करणसम्म प्रकाशन गरेका छन्। यतिमात्रै हाेइन, दासले पारामाउन्ट प्रकाशन पुतली सडककबाट प्रकाशन गरेको ‘सिनियर गेमस्काउट परीक्षा दिग्दर्शन’मा पनि त्यही प्रश्न राखेको भेटिएको छ । सो पुस्तकको द्वितीय संस्करण २०७८/७९, पेज नम्बर १०० को प्रश्न नम्बर १३८ मा पनि अहिले विवादित बनेको प्रश्न नै राखेको छ । यसबाट लेखककले पटक–पटक पुस्तक लेखनमा चरम लापरबाही गरेको देखिएको छ ।
प्रकाशनमा पुस्तकको सर्वाधिकार लेखकमा हुन्छ । केही दिन पहिलेदेखि चर्चामा रहेको प्रश्न सम्बन्धि यस विषयले प्रकाशकहरुलाई समेत विवादमा तानेको छ । उक्त अपमानजनक शब्द प्रयोग भएकोप्रति लेखक दासले सामाजिक सञ्जालमार्फत गल्ती भएको स्वीकार गरिसकेका छन् । विद्या विकास प्रकाशन प्रा. लि. ले समेत सार्वजनिक सूचना जारी गरी अपमानजनक शब्द प्रयोग भएकोप्रति क्षमा याचना गरेको छ । ‘आगामी दिनमा यस्ता कमीकमजोरी हुनबाट सचेत हुनेमा प्रतिबद्धता व्यक्त गर्दछौं,’ सूचनामा भनिएको छ ।
लेखकलाई निलम्बन गरी कारबाही गरिनुपर्छः सांसद ईश्वरी घर्तीमगर
प्रतिनिधीसभा सदस्य ईश्वरी घर्तीमगरले पुस्तकमा लेखिएको उक्त प्रश्नोउत्तरले आम महिलामाथि गम्भिर आघात पु¥याएको भन्दै लेखकलाई तुरुन्त निलम्बन गरी कानुनी कारबाही गर्न माग गरेकी छन् । बुधबारको संसद बैठकमा बोल्दै उनले सरकारको उच्च पदस्थ कर्मचारी भएर यस्ता अपमानजनक शब्द राख्न हुन्छ की हुदैन ? प्रश्न समेत गरिन् ।
विवादित पुस्तकका लेखक दास नेपाल सरकारका वन तथा वातावरण मन्त्रालयका सहायक संरक्षण अधिकृत भएको बुझिएको छ ।
संविधान र कानून बमोजिम दण्डनीय छ: सामुदायिक वन महासंघ
महिलाप्रति लक्षित उक्त पुस्तक लेख्ने र प्रकाशन गर्ने कार्य संविधान र कानून बमोजिम दण्डनीय रहेको सामुदायिक वन उपभोक्ता महासंघ नेपालले जनाएको छ । महासंघले प्रेस विज्ञप्ती जारी गर्दै पुस्तकका लेखक र प्रकाशक दुबैलाई प्रचलित कानूनबमोजिम दण्ड सजाय र प्रकाशित पुस्तकका सबै प्रतिहरु जफत गरी नष्ट गर्न माग गरेको छ ।
पुस्तकमा प्रकाशित प्रश्नोउत्तरले महिलाप्रति हिंसात्मक वातावरण सृजना गर्ने, नारी अस्मितामाथि धावा बोल्ने र महिलामा सामाजिक तथा मनोवैज्ञानिक किसिमको त्रास सृजना गर्ने कार्य भइरहेको महासंघको बुझाई छ ।
सुर्खेतका महिला अगुवाद्वारा विरोध
सुर्खेतका महिला अगुवाहरूले पनि उक्त पुस्तकविरुद्ध कारबाहीको माग गरेका छन् । अन्तरपार्टी महिला संजालका साथै विभिन्न राजनीतिक दलका महिला संगठनहरुले सोमबार जिल्ला प्रशासन कार्यालयमा पुगेर कारबाहीको माग गर्दै ध्यानाकर्षण गराएका हुन् ।
‘पाठक वर्गमा गलत ज्ञान दिने, महिलाको चरित्रहत्या गर्ने, महिला अस्मिताको खिल्ली उडाउने उक्त गैरजिम्मेवार अमानवीय शब्दप्रति खेद प्रर्कट गर्दछौं’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।
महिला अधिकारकर्मीहरूले पुस्तक प्रतिबन्ध लगाई लेखक र प्रकाशकलाई कानुन बमोजिम कारबाही गर्न पनि माग गरेका छन् ।