काठमाडाैं। सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार अघिल्लो असारको तुलनामा गत असारमा तिर्न बाँकी सार्वजनिक ऋण २ खर्ब ८ अर्ब रुपैयाँले बढेको देखाएको छ ।
अघिल्लो आर्थिक वर्ष ०७८/७९ को असार मसान्तसम्ममा यस्तो ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख बराबर थियो । गत आर्थिक वर्षमा मात्र १ खर्ब ४० अर्ब ८७ करोड ९९ लाख बराबर आन्तरिक र ६७ अर्ब ५० करोड २२ लाख बराबर बाह्य ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
सरकारले तिर्न बाँकी कुल ऋणमध्ये बाह्यभन्दा आन्तरिक ऋण करिब ३५ अर्बले बढी छ । गत असारसम्म ११ खर्ब २८ अर्ब ३२ करोड आन्तरिक ऋण र १० खर्ब ९३ अर्ब ३४ करोड बाह्य ऋण तिर्न बाँकी छ ।