सुर्खेत । सूर्यतारा सिमेन्ट उद्योगको नाम किटान गरी बजेट विनियोजन गरिएको विषय छानविन गर्न सांसदहरुले माग गरेको छन् । शुक्रबार प्रदेश सभा बैठकमा बोल्ने क्रममा सांसदहरुले छानविनको माग गरेका हुन् ।
प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका प्रदेश सभा सदस्य विनोदकुमार शाहले नीति र कानुन अनुसार नीजि क्षेत्रलाई बजेट छुट्याएको रेकर्ड नभएको बताए । ‘हाम्रो नीति, कानून अनुसार नीजि क्षेत्रलाई सरकारी बजेट छुट्याएको रेकर्ड छैन । मिल्दैन ।’ उनले भने, ‘सिमेन्ट उद्योगको खानेपानीका लागि ३० लाख बजेट छुट्याएको समाचार पढे । शेयरको बार्गेनिङ गरेको कुरा सुने । त्यसको छानविन गर्न माग गर्दछु ।’
यस्तै, प्रदेश सभा सदस्य जितबहादुर मल्लले आधिकारीक रुपमा सञ्चालन छ वा छैन भन्ने कुराका ख्याल नगरी सोझै सिमेन्ट उद्योगको नाममा बजेट विनियोजन भएको कुरा गम्भिर रुपमा छलफल हुनुपर्ने बताए । ‘सिमेन्ट उद्योगको नाममा ३० लाख बजेट गएको कुरा तपाई हाम्रा हातमा रहेको मोबाईलमा समाचार आएको छ । यो कुन ढंगले बजेट विनियोजन भएको हो । सम्बन्धित विभागीय मन्त्रालयले गम्भिर रुपमा छलफल गरोस् ध्यानाकर्षण गराउदछु’ मल्लले भने ।
कर्णाली प्रदेश सरकारकाले आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रममा सूर्यतारा सिमेन्टको खानेपानी व्यवस्थापनका लागि ३० लाख बजेट विनियोजन गरेको समाचार शिलापेपरमा प्रकाशन भएको थियो ।
सुर्खेतकै चौकुने गाउँपालिकास्थित सूर्यतारा सिमेन्ट उद्योग नजिकैको करिब ८० घरधुरी रहेको बसन्ती टोलमा अहिले पनि खानेपानीको समस्या छ । उनिहरुले स्थानीय भालुखोलाको पानी पिउन बाध्य छन् ।
नजिकैको अर्को राजीगाउँ, कुमाला, सिगौडेबाडा, साविक ३ नं. घाटगाउँ, भाम्ले, टमटा टोल लगायतका बस्तीमा अहिलेपनि खानेपानी समस्या विकराल बनेको छ तर, ती बस्तीहरुमा प्रदेश सरकारमार्फत खानेपानीका कुनैपनि योजना समावेश गरिएको छैन ।
सम्बन्धित समाचारः